बेलायत बाट दशैं आयो भन्दै कल्पनाले लेखिन यस्तो भावुक कविता

कल्पना त्रिपाठी

घुम्दै फिर्दै बर्ष दिनको, दशैं आयो फेरि !

बुढा बाबा बस्दै होलान्, मूल बाटो हेरि !!

रातो माटो कमेरोले, लिपपोत गरी !

सिंघार्दै छिन् घर आँगन, भाउजु बहिनी छोरी !!

नाना थरी मसला र, बिस्कुन आँगन भरि !

जोहो गर्दै बुढी आमा, भित्र बाहिर गरी !!

कुभिन्डो र काँक्रो खल्पी, अचार शिशि भरि !

केटाकेटी उमङ्गित छन, नयाँ नाना फेरि !!

ठाउँ ठाउँमा रोटेपिङ्ग र, लिङ्गेपिङको झड्का !

बुज्रुकको टिका थाप्न, गरी लामो फड्का !!

थुन्चे भरि दही केरा, पाउर सेल रोटी !

आशिर्वादको बर्षा सँगै, अञ्जुलीमा भेटी !!

साँझ बिहान ट्याम्के बज्छ, दशैँ आयो दशैँ !

देखासिकी चाहाड मान्दा, सर्नु पर्ला वसाइँ !!

घाँटी हेरि गाँस निल्न, नभुले है प्यारा !

घर मूलिले ऋण माथि, ऋणको विचार गर !!

पशु पन्छी जनावरको, किनबेच अति !

अबोधको बध् गरी, मेट्न आत्मरती !!

बलि चढाइ रामको नाममा, जनावरको खती !

अहिंसाको मार्ग देखाउ, दुर्गा भगवती !!

परमात्माको अनुकम्पा, आत्मा सङ्ग जोडौं !

आजै बाट पशु वली, हत्या हिंसा छोडौं !!

सम्यम भई संस्कृतिको, सम्बर्धनमा लागौं !

मानव धर्म पालन गरि, कुरीति लाई त्यागौं !!

रातो टिका अक्षताले, सबको निधार भरुन !

नव दुर्गा भवानीले, मङ्गल कल्याण गरुन !!

हुने खाने सम्पन्नले, बिपन्न लाई हेर !

यो बर्षको दशैं आओस, सहिष्णुता लिएर !!

समाजसेवी तथा सामाजिक अभियन्ता कल्पना त्रिपाठी डाइरेक्टर अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा पूर्व-महासचिव समेत हुन् ।