पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी भएका छन् ।
गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा ती राजदूतहरु पोखराको भ्रमण गरेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।
उनीहरु कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी भएका थिए । हाइकिङपश्चात् पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गरे । तत्पश्चात फेवातालमा डुङ्गा शयर र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन समेत गरेका थिए ।
विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उनीहरु पुगेका हुन् ।
विगतका वर्षमा विश्व पर्यटन दिवसका दिन पहिलो उडानमार्फत पोखरा आउने विदेशी पर्यटक तथा सवारी साधनमार्फत आउने पर्यटकलाई सम्मान गर्ने तथा अन्य विभिन्न कार्यक्रम गरिने गरिएकोमा विदेशी विशिष्ट कूटनीतिज्ञलाई सहभागी बनाइएको भने पहिलो पटक हो ।
कोरोनाले प्रभावित पोखराको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि विदेशी कूटनीतिज्ञको पोखरा भ्रमण फलदायी हुने विश्वास लिइएको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए ।
यसरी पोखरा घुम्नेहरुमा यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिहरुको २८ सदस्यीय टोली रहेको थियो । जसमा चीन र अमेरिकाका राजदूतहरु भने सहभागि भएनन् ।
उनीहरु दुई दिन पोखरामा रहेर पर्यटकीय गतिविधिमा सहभागी भएका थिए । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न सकिन्छ भन्ने सन्देश दिन उनीहरुलाई निम्तो दिइएको आयोजकले बताएको छ ।






