लन्डन । बेलायतस्थित नेपाली युथ एशोसिएसनको आयोजनामा साउथ इष्ट लन्डनमा ग्रीनवीच कप फुटबल सेप्टेम्बर ११ मा हुने भएको छ ।
बेलायतमा एसोसियसनले हरेक बर्ष आयोजना गर्ने गरिएको उक्त प्रतियोगिता चार्ल्टन पार्कमा सञ्चालन हुने भएको हो ।
बेलायतभरका कुल १६ वटा टीमले भाग लिने प्रतियोगिताका विजेतालाई १५ सय पाउन्ड तथा उपविजेतालाई ५ सय पाउन्ड नगदसहितको पुरस्कार प्रदान गरिनेछ ।

विगतका वर्षहरुमा वुल्लिच आर्टिलरी ब्यारेकको मैदानमा हुँदै आएको प्रतियोगिता यस वर्ष उक्त मैदान मर्मत जारी रहेका कारण चार्ल्टन पार्कमा गर्न लागिएको हो ।
मैदान परिवर्तन र अहिले फेरि बढ्दै गरेको कोभिड संक्रमणलाई समेत ध्यानमा राख्दै यस वर्ष महोत्सव नगरेर फुटबल प्रतियोगितामा सिमित राखिएको आयोजक एशोसिएसन अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

कोभिड महामारीको कारण महोत्सब गर्दा थप संक्रमण बढ्नसक्ने तथा सरकारले पनि मापदण्ड तोकेको कारण प्रतियोगिता मात्र गर्न लागिएको उनको भनाई छ । यसपटकको मेलामा अघिल्लो बर्षजस्तो लाइभ म्युजिक, खानाका स्टल, बालबालिकाका खेल जस्ता आकर्षणहरु नहुने भएका छन् ।
खेल हेर्न आउने दर्शकहरुले आफ्नै हिसाबले खानाहरु ल्याउने, पार्कमा बस्ने, खाने गर्न सक्ने आयोजकले जनाएको छ ।
अध्यक्ष गुरुङले यसपटक भलिवल प्रतियोगिता स्थगन गरिएको कारण फुटबललाई विशेष प्राथमिकता दिएर खेलाइने लण्डन नेपाल न्यूजलाई जानकारी दिए । उनले उक्त कार्यक्रमलाई विशेष बढाउने गरी धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर शोभा बढाइदिन समेत आग्रह गरे ।

उक्त प्रतियोगिताको लागि एसईआरटिजी, जिएनसिटी, आरजिएनएस, रोयल बरो अफ ग्रिनविच, पासा पुच गुठी एसई, बुद्ध फाउण्डेशन यूके, डब्लुएआरसी क्लब, प्रतिभा नक्षत्र आदिले सहयोग गरेका छन् ।
कार्यक्रममा फुटबल संयोजकमा दिपेन गुरुङ, विवेक गुरुङ, लोजिस्टिक तथा ठाँउ संयोजक जीवन सेन र हरी गुरुङ, आयोजक समिति सदस्य प्रसिद्ध प्रधान, सुदर्शन गुरुङ, राजन खकुराल, सचिन श्रेष्ठ, सुरज गुरुङ र समीर सुरज गुरुङ रहेका छन् ।






