सिड्नी । गैर – आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले यस बर्ष १५ विधामा अवार्डहरु वितरण गर्ने भएको छ ।
हरेक दुई बर्षमा प्रदान गरिने एनआरएनए अष्ट्रेलिया नेशनल एक्सिलेन्स अवार्डले यसपटक करिब दुई दर्जन बढीलाई सम्मान गरिने भएको हो । १८ सेप्टेम्बरमा हुने उक्त अवार्ड घोषणा कार्यक्रमको लागि दरखास्त आह्वान गरिएको छ ।
उक्त कार्यक्रमले उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान मात्र नभएर अष्ट्रेलियामा रहेर ठूलो त्याग र संघर्ष गरी सफलता हासिल गरेका व्यक्तिहरु मार्फत समुदायका अरु मानिसहरुलाई उल्लास थप्ने एक अवसरको रुपमा समेत लिइएको अध्यक्ष नन्द गुरुङले बताए ।
एनआरएनए नयाँ कार्यसमितिले शपथ लिएको केही समयमै ठूलो कार्यक्रमको आयोजना गरिएको हो । २०१९–२०२० मा अष्ट्रेलियामा रहेर उत्कृष्टता हाँसिल गरेका नेपालीहरुलाई उक्त अवार्डको नोमिनेशनमा पर्नको निम्ती आवेदन आह्वान गरिएको छ ।
अष्ट्रेलियामा रहेका एनआरएन मात्र नभएर सबै नेपालीहरुले मापदण्ड अनुसार अवार्डमा सामेल हुन पाउने छन् । यसको निम्ती सुनिल भण्डारीको संयोजकत्वमा कार्यदल बनाइएको छ । सोही कार्यदलले अवार्डका निम्ती परेका आवेदनहरुको मूल्यांकन गरी मापदण्ड अनुसार अवार्ड दिने व्यक्तिहरुको घोषणा गर्नेछ । उक्त कार्यदलमा देवेन्द्र सापकोटा सचिव रहेका छन् भने सबै राज्यहरुबाट प्रतिनिधिहरु रहेका छन् ।
कार्यदलले सबै नेपालीहरुलाई यस अवार्ड वितरण कार्यक्रम सहभागि हुन तथा समन्वय गरिदिन संयोजक भण्डारीले आग्रह गरे । समय छोटो भएपनि यस अवधिमा कार्यदलले सबै मापदण्डहरु अनुसार निष्पक्ष रुपमा काम गर्ने भन्दै उनले जति धेरै आवेदन आयो त्यति नै धेरै सक्षम व्यक्तिले अवार्ड पाउने बताए ।

अवार्डमा मनोनित हुन चाहनेहरुले तोकिएको फारम अगष्ट २९ देखि ७ सेप्टेम्बर सम्म आवेदन दिन सक्नेछन् । प्रेसिडेण्टले अवार्ड बाहेक अन्य सबैमा सिफारिस दर्ता गराउनुपर्ने छ । आवेदन दिने समयमा एनआरएनएले उपलब्ध गराएको तीन पाने फारममा योग्य व्यक्तिले नेपाली समाजमा पु¥याएको संक्षिप्त योगदान र परिचय भरेर इमेल गर्नुपर्नेहुन्छ ।
यसपटक १५ विधामा अवार्ड प्रदान गरिने भएको छ ।
स्टुडेण्ट अफ द इयर (उच्च माध्यमिक तह), स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी र १८ वर्षभन्दा माथी), नेप्लिज कल्चरल एम्बास्डर अफ द इयर, एनआरएनए अष्ट्रेलिया युथ पर्सन अफ द इयर, एनआरएनए अष्ट्रेलिया ओमन, एनआरएनए अष्ट्रेलिया अवार्ड, फ्रेण्डस् अफ नेपाल, विजनेस पर्सन अफ द इयर अवार्ड, कम्युनिटी सर्भिस अवार्ड, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन र स्टेट पर्सन अवार्ड वितरण गर्न लागिएको छ । त्यस्तै एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनाले पाउनेछन् ।
विश्वविद्यलय तहको स्टुडेण्ट अफ द इयर यसअघि नै वितरण भइसकेको छ । सिफारिसकर्ताले एनआरएनए अष्ट्रेलिया नेसनल एक्सिलेन्ट अवार्ड टाक्सफोर्सले सिफारिस भएर आएका व्यक्तिमध्येबाट छनोट गरि अवार्ड दिनेछ ।
अवार्डमा समेल हुन चाहनेहरुले यहाँ क्लिक गरी तोकिएको मापदण्डहरुको बारेमा जानकारी लिन सक्ने छन् ।






