न्यू साउथ वेल्समा कोभिड संक्रमण उत्कर्षमा, एकैदिन थपिए ६३३ संक्रमित

सिड्नी । न्यू साउथ वेल्स राज्यमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । बुधबार सरकारले दिएको तथ्यांक अनुसार वितेको २४ घण्टामा मात्रै ६३४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा एक जना ओभरसिजका हुन् ।

हालसम्म संक्रमित हुनेहरुको कुल संख्या १४ हजार ८५४ पुगेको छ भने वितेको २४ घण्टामा १ लाख २ हजार बढी नमुना परिक्षण भएका थिए । यसैगरी अहिलेसम्म १ करोड १२ लाख २५ हजार बढी नमुना परिक्षण भएका छन् ।

सरकारका अनुसार हालसम्म ४६२ जना अस्पतालमा छन्, ७७ जनाको आईसीयूमा उपचार भइरहेको छ भने ११६ जनाको मृत्यु भएको छ । वितेको २४ घण्टामा मात्रै तीन जनाको मृत्यु भएको छ ।

कोभिड महामारी बढ्दै गएपछि सिड्नीमा दुई महिनादेखि लकडाउन लगाइएको छ भने न्यू साउथ वेल्समा पनि केही दिन अघिदेखि पूर्ण रुपमा लकडाउन घोषणा गरिएको छ ।

संक्रमण दर वृद्धि हुँदै जाँदा लगाइएको लकडाउनको अवज्ञा हुने क्रम बढ्दै सडकमा सरकारले सयौँको संख्यामा सेना तथा प्रहरी परिचालन गरेको छ ।

हाल अष्ट्रेलियामा दैनिक करिब तीन लाखको दरमा कोभिडविरुद्धको खोप लगाउने क्रम चलिरहेको छ । डेल्टा भेरियन्टसहितको संक्रमण बढ्दै जान थालेपछि सरकारले संक्रमण रोकथाम तथा भ्याक्सिनेशनलाई तिव्र बनाएको हो ।