लन्डन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेको अध्यक्षमा दोस्रो पटक पनि विनोद चिपालु चयन भएका छन् ।
आइतबार सम्पन्न भएको चौंथो अधिवेशनले चिपालुकै नेतृत्वमा निवर्तमान कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
दुई बर्षे कार्यकाल रहने उक्त कार्यसमितिको उपाध्यक्षमा सर्वेन्द्र अधिकारी, दीपक थापा, महासचिवमा सञ्जयभक्त कंडेल, सचिवमा सुजन पराजुली र कोषाध्यक्षमा लालमणि भट्टराई रहेका छन् ।
त्यस्तै, माया केसीले सदस्य तथा आर्थिक स्रोत व्यवस्थापन संयोजक, सत्यप्रसाद प्रजापति सदस्य रहेको कार्यसमितिका बाँकी सदस्यहरु पछि मनोनित गरिने भएको छ ।
चिपालुको अध्यक्षतामा प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट आयोजित उक्त साधारणसभामा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, इनास ग्लोबलकी अध्यक्ष कमला दाहाल, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, इनास ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठ, इनास यूके पूर्व अध्यक्ष रजनी सुनुवार, कलाकार सनमकुमार वैराग, गायक योगेश्वर अमात्य, वरिष्ठ पत्रकार भगिरथ योगी लगायतले शुभकामना दिएका थिए ।
दोस्रो पटकपनि अध्यक्षको जिम्मेवारी पाएसँगै चिपालुले बेलायतमा नेपाली कला–संस्कृतिको प्रवर्द्धन् गर्ने कार्यमा अझै बढी दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।






