लण्डन । गत शनिवार देखि लण्डनमा आफ्ना मागहरु सम्बोधन गर्नको निम्ती बेलायत सरकारमाथि दबाब बढाउन ३ जना भुपू गोर्खाहरुले थालेको भोक हड्तालको आज आठ दिन पुगेको छ ।
२१ जुलाई देखि १७ दिने रिले अनशन बस्दा पनि सरकारले नसुनेपछि ज्ञानराज राई, पुष्पा घले र घन गुरुङले गत शनिवारबाट प्रधानमन्त्री कार्यालय अघि भोकै बसेका छन् । आफ्नो मागहरु सम्बोधन नभएसम्म आन्दोलन नछोड्ने विषयमा अडिग रहेका उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै रहेको भन्दै गोर्खाहरुमा चिन्ता बढेको छ ।
हालसम्म सरकारले औपचारिक रुपमा माग सम्बोधन गर्न सकारात्मक नहुँदा उनीहरुको भोक हड्ताल तोडिन सकेको छैन ।
१९९७ भन्दा अघि रिटायर भएका गोर्खाहरुले व्रिटिश सैनिक सरह समान पेन्सन पाउन सकेका छैनन् । समान पेन्सन लगायतका अन्य विभिन्न मागहरु सहित बेलायतमा गोर्खा सत्याग्रहले बर्षौदेखि आन्दोलन गर्दै आएका छन् ।
सरकारले आन्दोलन दबाउन खोज्ने गरेपनि समाधानको प्रयास गरेको छैन ।
यद्यपि सरकारलाई ध्यानाकर्षण गराउन बेलायतको प्रतिनिधिसभाको सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सांसदहरु सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया, लर्ड शेख,र गोर्खाली आन्दोलनलाई नजिकबाट बुझेका लन्डनस्थित एभरेष्ट ल सोलिसिटरका प्रिन्सिपल सोलिसिटर राजु थापा लगायतले आन्दोलनरत गोर्खाहरुसँग भेट गरेका छन् ।

भेटपछि उनीहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।
प्रधानमन्त्रीलाई आमरण अनशन बसिरहेका गोर्खाहरुलाई भेटेर उनीहरुको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको सन्देश दिन पनि आग्रह गरेका छन् । वार्ताले भोकै बसेका गोर्खाहरुको ज्यान बचाउन सक्ने र गोर्खा मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुको विश्वास छ ।
यसअघि एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, नर्सिङ एसोसियसन, पत्रकार महासंघ यूके लगायतका बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुले पनि उनीहरुलाई भेट गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । 
तर बेलायत सरकारले भने गोर्खाहरुलाई दिइने पेन्सनमा कुनै भेदभाव नरहेको बताउँदै आएको छ । माग प्रति सकारात्मक नभएको संकेत दिदै बेलायत सरकारले गोर्खाहरुलाई कुनै पनि भेदभाव नगरेको दाबी गर्दै आएका छन् ।
१९९७ भन्दा अघि निवृत भएका गोर्खाहरुले बेलायती सैनिक सरहको सेवा सुविधा पाउन नसकेको गुनासो पटक पटक सरकार सामू पुग्ने गरेपनि सरकारले ध्यान दिन नसक्दा गोर्खालीहरुले आक्रमक आन्दोलनको थालनी गरेका हुन् ।
यो आन्दोलनलाई निर्णायक बनाउने अभियानमा रहेको भन्दै गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता हुन नसक्ने स्पष्ट पारेका छन् ।
आठ दिनदेखि भोकै रहेका तीन जना गोर्खालीहरुको स्वास्थ्य विग्रदै गएपछि यहाँ रहेका नेपाली नर्सहरुले स्वास्थ्य परिक्षणको समेत थालनी गरेका छन् ।






