भूकम्प पीडितका लागि भारतबाट आएको पाउरोटीमा ढुसी,चाउचाउ ‘डेट एक्सपायर’

 

1430990677383_Pro_Ktm_Dharmasthali ma khana khadai (1)

भारतबाट राहतका लागि आएको १ हजार प्याकेट वैशाली ब्राण्डको पाउरोटी खान अयोग्य पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले परीक्षण गर्दा पाउरोटीको उपभोग्य मिति समाप्त भएको पाइएको हो। विभागको टोलीले सो पाउरोटी नष्ट गरेको छ।
त्यस्तै भारतबाट राहतस्वरूप कार्गो मार्फत ल्याइएको ढुसी परेको, लेबल नभएकाले एक हजार किलो परौठा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खाद्य निरीक्षण इकाइले नष्ट गरेको छ। विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार राहतका लागि आएको पाउरोटी भारतबाट नै पठाउने बेलामा डेट एक्सपायर भएको पाइएको छ ।
साथै राहतकै लागि ल्याइएका सिङ्गापुरमा उत्पादित कोका ब्राण्डका ४३ कार्टुन चाउचाउ उपभोग्य मिति समाप्त भएकाले धुल्याइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए। भारतबाट ल्याइएका वाराणसीमा उत्पादित लापेज ब्राण्डको पेय पदार्थको प्याकेट बिग्रेकोले ३३ कार्टुन वितरणमा रोक लगाइएको विभागले जनाएको छ।

विभागमा उजूरी परेअनुरूप विभागको अनुगमन टोलीले सक्षम फुड एण्ड बेभरेज प्रा लि, भैँसेपाटीस्थित उद्योगबाट उत्पादित प्रशोधित पानी अक्वा वेस्ट २० लिटरको जारमा फोहोर देखिएको छ ।
छानबिन गर्दा उक्त उद्योगले खाद्य ऐन, २०२३ अनुसार लिनुपर्ने अनुज्ञापत्र नलिएकोले उक्त उद्योगको उत्पादनमा रोक लगाइएको उनले बताए।
उद्यमीलाई आवश्यक कारबाहीका लागि विभागमा उपस्थित हुन पत्र बुझाइएको छ। राहत सामग्री वितरण व्यवस्थामा संलग्न सबैलाई मिति नाघेका, चाँडै बिग्रिने खाद्य तथा पेय पदार्थ वितरण नगर्नुहुन विभागले आग्रह गरेको छ।