एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरसहित पूरै प्यानलै विजयी, अरु पदमा को को ? (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गर्दै प्रेम गाहा मगर अध्यक्षमा निवाचित भएको घोषणा गरेको छ ।

२ अगष्ट मध्यान्ह १२ देखि मंगलबार दिउँसो १२ बजेसम्म भएको मतदानमा दीपक श्रेष्ठ र रोजिना राईलाई पछि पार्दै मगरसहित उनको पूरै प्यानलले जित हासिल गरेका हुन् ।

गाहामगरले ४ हजार ५ सय ७४ मत पाउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले २ हजार १ सय ९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।

यसअघि ३१ जुलाईमा गर्ने भनिएको निर्वाचन दुई दिन पर सारिएको थियो । सौहार्दपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि निर्वाचन मण्डलले एक पटक पनि कति मत खस्यो भन्नेबारे जानकारी दिएको थिएन ।

विहिबार मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि विभिन्न विवादको कारण मतपरिणाम शुक्रवार राति सार्वजनिक गरिएको हो ।

करिब ५ दर्जन उम्मेद्वार रहेकोमा गाहा मगरको समावेशी समूहले जित हासिल गरेको छ ।

२ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् ।
यसैगरी महिला उपाध्यक्षमा शकुन्तला गुरुङले ३ हजार ७ सय ४३ सहित जित दर्ता गरिन् ।

नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेलले ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए । स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।

सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

को हुन् प्रेम गाहा ?

गुल्मी जिल्लामा जन्म भई पूर्व बेलायती सेना समेत रहेका उनी बक्सर समेत हुन् । १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका उनले १९९७ मा ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ खेल्न पुगेका थिए ।

दुई पटक सम्म एनआरएनए उपाध्यक्षको नेतृत्व सम्हालेका उनी गोर्खा विभागलाई नजिकबाट नियालेका व्यक्ति हुन् ।

बेलायतमा रहेका थुप्रै समाजिक संघसंस्थाहरुमा नेतृत्व गरेका उनले नेपालसहित बेलायतमा रहेका नेपाली समुदायको हकहितको निम्ती दिलोज्यान लगाएर काम गर्दै आएका छन् ।

मतपरिणाम सार्वजनिक भएपछि अध्यक्ष गाहाले आफूलाई मतदान दिने सबै मतदाताहरु तथा निर्वाचन अधिकृत महेन्द्रराज कंडेल सहितको निर्वाचन मण्डल टिमलाई धन्यवाद व्यक्त गरे । आफ्नो चुनावी अभियानमा साथ दिने र आफूसँग चुनावी मैदानमा उठेका सबैको माग सम्बोधन गर्दै धाँधलीरहित र संस्थागत एनआरएनए बनाउने अभियानमा आफू लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

यतिबेला गाहा मगरसहितको टिमले विजय उत्सब मनाइरहेको छ । एनआरएनए यूकेको इतिहासमा पहिलो पटक अनलाइन मतदान भएको हो ।

भिडियो

https://www.facebook.com/londonnepalnews/videos/251582536808017