बेलायतमा गोर्खा सत्याग्रहको आन्दोलन तीब्र बन्दै,शनिवारदेखि ३ जना भोक हड्तालमा उत्रीने

लन्डन ।बेलायतमा आन्दोलनरत गोर्खा भोक हड्तालमा बस्ने भएका छन् । बेलायती सैनिक सरहको सेवा सुविधा लगायतका विभिन्न माग राख्दै  जुलाई २१ बाट शुरू भएको रिले अनशन नरोकिने संकेत देखिएको छ । १३ दिनसम्म रिले अनशन बस्ने र त्यसपछि पनि माग सम्बोधन नभए सामूहिक भोक हड्ताल शुरू गर्ने निर्णय गरेका गोर्खा सत्याग्रहका अभियन्ताहरुले ७ अगष्टबाट भोक हड्ताल शुरू गर्ने भएका हुन् ।
शनिवार देखि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई,धन गुरुङ र पुष्पा राणा घले (आमरण अनसन)भोक हड्ताल बस्ने भएका छन् ।
भोक हड्ताल गर्नको निम्ती नेपालबाट यूके आएकी घलेले क्वारेन्टीनको अवधि पूरा गरिसकेकी छन् । आफ्ना मागहरुमा बेलायत सरकारले मौनता देखाएपछि २१ जुलाई देखि रिले अनशनमा रहेका उनीहरुले शनिवार प्रधानमन्त्री कार्यालय अघि ठूलो प्रदर्शन गरेका थिए ।
शनिवारको आन्दोलनमा बेलायती भेट्रान्स, सिख समुदाय र नेपाली समुदायको व्यापक समर्थन रहेको थियो । यसअघि पनि उनीहरुले पटक पटक प्रदर्शन गर्दै आइरहेका छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि ध्यानाकर्षण पत्र पेश गरेका छन् । तर सरकारले माग सम्बोधन गर्नुको सट्टा आन्दोलन रोक्न दबाब मात्र दिने गरेको अभियन्ताहरुले गुनासो गरेका छन् ।
सत्याग्रहका प्रमुख संयोजक कृष्ण बहादुर राईले सरकारले बेवास्ता गरेको भन्दै शनिवारबाट भोक हड्ताल शुरू गरिने बताए । उनले भने, ‘‘हामीले बर्षौदेखि हाम्रा मागहरु राख्दै आएका छौँ, अझै पनि सुनुवाई नभए हामी आन्दोलन चर्काउँदै जान्छौँ, भोक हड्तालमा उत्रन्छौँ, कुनै पनि हालतमा पछि हट्दैनौँ ।’ उनले आफूहरुको आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता समर्थन र हौसला दिएको उनको भनाई छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले बेलायत सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया नआएको जनाउंदै यसपटक माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने बताए । राईले सरकारले माग सम्बोधन गर्न छोडेर रिले अनशन र भोक हड्ताल तोड्न बेलायत सरकारले दबाब दिएको बताए । ‘हामी बरु अनशनबाटै आफ्नो जीवन त्याग्न तयार छौँ, तर कुनै पनि हालतमा पछि हट्दैनौँ,’ लण्डन नेपाल न्यूजसँग उनले भने, ‘यो हाम्रो निर्णायक आन्दोलन हो, प्राण आहूति दिन पनि तयार छौँ । ‘ जुलाई १ मा अनशन शुरू गर्ने तयारी गरेका गोर्खाहरुले तीन हप्ता रोकेका थिए । तर सो अवधिमा पनि बेलायत सरकारले मौनता देखाएपछि २१ जुलाई देखि अनशनमा रहेका उनीहरुलाई उक्त आन्दोलनको कार्यक्रम रोक्न सरकारले दबाब दिएको राईले जानकारी दिए । तर माग सम्बोधनको आश्वासन समेत नआएको उनले बताए ।
भूतपूर्व गोर्खाहरुले लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ भिसीको नाममा २१ जुलाई देखि १३ दिने अनसनमा छन् । लामो समयदेखि आफ्ना मुद्दाहरुको विषयमा व्रिटिश सरकारलाई अवगत गराइरहेको भएपनि सरकारले आश्वासन मात्र दिएको तर कार्यन्वयन नगरेको भन्दै भूपू गोर्खाहरु आन्दोलनमा रहेका छन् । उनीहरुले ब्रिटिश सरकारसंग कूटनीतिक माध्यमद्वारा सम्पर्क गरी वार्ताको मिति तोक्न नेपाल सरकारसंग पनि माग गरेका छन्।
यता गेसो र बिजिडब्लुएस पदाधिकारीहरुले आन्दोलनबारे नेपाल सरकारको धारणा बुझ्न र पछिल्लो समय गोर्खाहरुको गतिबिधिबारे छलफल गर्न नेपाली दूतावास पुगेका छन् । राजदूतसँग भेटेपछि बिजिडब्लुएस अध्यक्ष मे. (रि) टिकेन्द्रदल देवान जेपी र गेसोका कार्यवहाक सभापति धर्म तामाङले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै अनशन समस्याको समाधान नभएकाले नेपाल सरकारलाई सक्रिय भूमिका खेलिदिन अव्हान गरेका छन् । गेसो अनशनको विरुद्धमा छ । वार्ता र छलफलको माध्यमबाट मात्रै यसप्रकारका विषयहरुमा समाधान खोज्नुपर्ने उनीहरुको भनाई छ ।