गैरआवासीय नेपाली संघले ३५ करोड लगानीमा एक हजार घर बनाइदिने :


shesh1

गैरआवासिय नेपाली संघ (एनआरएन)ले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको छ । संघले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर बनाइदिने भएको हो ।

हजार घर बनाउनका लागि करिव ३५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको एनआरएनका अध्यक्ष शेष घलेले बताए । भूकम्प प्रभावित जिल्लामा राहत वितरण गरिरहेको संघले वर्षातमा घरबारबीहिन झनै पीडित हुने ठहर गरी घर बनाइदिन जुटेको हो ।

कुन-कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने बिषयमा अध्ययन गर्न संघले समिति समेत बनाइसकेको छ । समितिले इन्जिनियर, विज्ञ तथा सरकारसँग छलफल गरी प्रतिवेदन बुझाउने छ । ‘सोही आधारमा हामीले भूकम्प प्रभावित बिपन्न तथा आय-आर्जनको व्यवस्था नभएका परिवारको छनौट गरेर घर निर्माण प्रकृया सुरु गर्नेछौं’ अध्यक्ष घलेले भने ।

संघले भूकम्प गएलगत्तै आठ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत बितरण गर्ने घोषणा गरेको थियो । जुन काम अहिले निरन्त जारी रहेको छ । संघले कतिपय धेरैजसो जिल्लामा राहत बितरण सकिएको छ भने केही जिल्लामा स्वयंसेवक टोली राहत बितरणमा व्यस्त छ ।