लन्डन । बेलायतमा रहेको कर्मठ एनआरएन अभियन्ता तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले आउँदै गरेको निर्वाचनमा युरोप संयोजक पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
अक्टोवर २३ देखि २५ सम्म हुने १० औं महाधिवेशनमा संघको युरोप संयोजकमा उम्मेदवारी दिने तयारी गरेको लण्डन नेपाल न्यूजलाई बताए ।
सन् २००७ देखि एनआरएनएमा आबद्ध भएका उनले अब यूरोप संयोजकमा जिम्मेवारी लिएर काम गर्न चाहेको बताए । उनले भने, ‘नेपालीका लागि नेपाली भन्ने नाराको मूल मर्म अनुरुप विदेशमा बसेका नेपालीहरुको हितमा होस् वा नेपालमा कुनै पनि संकट पर्दा, व्यक्तिगत र सामूहिक रुपमा गरेको प्रयास स्मरणीय रहन्छ, म नयाँ योजनासहित अघि बढ्ने प्रण गर्दछु ।’
उनले अघि भने, ‘नयाँ देश र नयाँ परिवेशमा सन्तान हुर्काउंदै, व्यवसाय अगाडी बढाउँदै गर्दा हामीलाई आफ्नै समुदायको भरथेग निकै महत्वपूर्ण हुने रहेछ। त्यस्तै हामीले गरेको सानो सहयोग पनि मातृभूमिका लागि ठूलो हुंदो रहेछ भन्ने मैले अनुभव गरेँ ।’
सामाजिक काममा कहिल्यै पनि नाईं नभन्ने तिमल्सेना सन् २०१५ को भूकम्प होस् वा गत वर्ष देखि शुरु भएको कोभिड प्रकोप, सक्दो सहयोग गर्न सधैं अगाडी रहने गरेका छन्।
तिमल्सनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
कुरा भन्दा काममा बढि विश्वास गर्ने उनले गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७), एनआरएनए युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहेर काम गरिसकेका छन् ।
मृदुभाषी, शालीन र निष्कलंक छविका तिमल्सेना सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । धादिङ धुवाँकोट निवासी उनी विगत २० वर्ष देखि बेलायत बसोबास गर्दै आएका छन् ।
उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर सहयोग गर्दै आएका छन् । उनले नेपालमा हाइड्रो, रियलस्टेट, बैकिंङ, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् ।
१० औं महाधिवेशनका लागि अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले यसपटक अनलाइन माध्यमबाट चुनाव गर्नेगरी तयारी अघि बढाएको छ ।






