बेलायतका संघसंस्थाको समर्थन प्रेम गाहालाई औपचारिक घोषणाको व्यापक तयारी

लण्डन । बेलायतमा रहेका दर्जनौ नेपाली संघसंस्थाहरुले आउँदै गरेको गैरआवासीय नेपाली संघ, यूकेको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

समावेशी समूहले बेलायतमा सक्रिय नेपाली समुदाय सम्बद्ध सामाजिक संघ संस्थाका प्रमुखहरुसँग शनिबार आयोजना गरेको भुर्चुअल अन्तरक्रियामा सहभागी भई धारणा राखेका दुई दर्जन भन्दा बढी संस्थाका प्रमुखहरुले कार्य क्षमता, अनुभव र कार्यशैलीका कारण गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका हुन् ।

मगर संघ यूकेका अध्यक्ष सुनिल रानाले खस्किँदै गएको एनआरएन यूकेको साख प्रेम गाहा मगरले नै पुनर्स्थापित गर्न सक्ने बताए । ‘एनआरएनको सुधारका लागि प्रेमको अनुभव उपयोगी हुन्छ, उनले भने ।

आदिवासी जनजाति महासंघ, यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले केही व्यक्तिहरुले एनआरएनलाई आफ्नो कब्जामा राख्न खोजेको बताउँदै एनआरएनलाई साझा संगठनको रुपमा स्थापित गर्न पनि गाहा मगरलाई विजयी बनाउनुपर्ने बताए । गुल्मी समाजका अध्यक्ष टोप पल्ली मगरले दुई कार्यकाल उपाध्यक्ष भइसकेको व्यक्तिलाई निर्विरोध अध्यक्ष बनाउन सकेको भए राम्रो हुने थियो भन्दै निर्वाचन नै भए पनि राम्रो व्यक्तिलाई चयन गर्नुपर्ने बताए ।

‘संस्थागत समर्थन’

सिर्जनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जीले प्रेम गाहा मगर नेतृत्वको समावेशी टिमलाई संस्थागत रुपमा नै समर्थन रहेको जानकारी दिए । स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरुङले एनआरएनलाई प्रेम गाहा मगर नभई नहुने व्यक्ति रहेको भन्दै निर्वाचनमा धाँधली गर्न खोज्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्नु पर्ने बताए ।

त्यस्तै, गोरखा समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगरले नेपालमा जस्तै राजनीति यूकेमा पनि गर्न खोजिएको भन्दै राम्रो काम गरिरहेका व्यक्तिलाई अवसर दिनुपर्ने बताए । गुल्मी समाजका संस्थापक अध्यक्ष ओम थापाले संयमित भएर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै निर्वाचन समितिका बारेमा चनाखो हुनुपर्ने बताए ।

अन्तरक्रियामा समाजसेवी डेभिड गुरुङ, रोड सेफ्टिी कोआर्डिनेटर थर्क सेन, समाजसेवी रणध्वज राना, एनआरएन यूके कार्य समिति सदस्य ज्ञानेन्द्र आले लगायतले पनि प्रेम गाहा मगर जस्तो अनुभवी र संस्थाको सुधारका लागि प्रयासरत व्यक्तिलाई अध्यक्ष पदमा निर्वाचित गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा समावेशी समूहका चुनावी अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले धाँधली गर्न पल्केकाहरुले हरेक चरणमा समस्या मात्रै सिर्जना गरेको बताए । पहिले सदस्यता अभियान शुरु भएदेखि नै केही व्यक्तिहरु धाँधलीको प्रयासमा लागेको र निर्वाचन समिति गठनबाट त्यसको पुष्टि भएको बताए । संभावित धाँधली रोक्दै निर्वाचन सफल पार्न लाग्नुपर्ने उनको भनाइ थियो ।

एनसीसी यूकेका उपाध्यक्षद्वय सुनिलबाबु खड्का र नारायण कँडेलले एनआरएनएलाई पारदर्शी बनाउँदै वास्तवमै सबैको साझा संस्था बनाउने अभियानमा आफूहरु लागेकाले साथ दिन बेलायतवासी सबै नेपालीहरुलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण अभियानका सदस्य सचिव रुद्र थापाले गरेका थिए भने अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले एनआरएनए युकेलाई बेलायत स्थित सबै नेपाली अटाउने संस्था बनाउने उद्देश्यले आफुले उम्मेदबारी दिएको बताए । आफु निर्वाचित भएमा सबै संस्था हरु संग सहकार्य गर्ने र समाज का अगुवा हरुको सुझाव र सल्लाह का आधार मा अगाडी बढ्ने वाचा पनि उनले गरे।

एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न आगामी ३१ जुलाईमा चुनाव हुँदै छ। उम्मेदवारी दर्ताका लागि जुलाई १५ देखि १६ तारिख साँझ ५ बजेसम्मको समय छुट्याइएको छ ।

यो पनि : एनआरएनए यूकेले सार्वजनिक गर्याे निर्वाचन तालिका, दर्ता शुल्कसहित दर्ता मितिसम्म