तक्दीर अधिकारी, सिड्नी । गैरआवासीय नेपाली संघ अन्तर्गत महिला विभाग नारी निकुञ्जले नेपालमा सुरक्षित महिनावारी सेवाको व्यवस्थापन गर्नको निम्ती करिब सात लाख नेपाली रुपैया पठाएको छ ।
नेपालमा विकट दुर्गम क्षेत्रका नेपाली महिलाहरुको सुरक्षित महिनावारीको निम्ती काम गरिरहेको ‘प्याड टू गो’ नामक संस्थामार्फत ७ हजार ६ सय अष्ट्रेलियन डलर पठाएका हुन् ।
नारी निकुञ्जकी संयोजक सन्ध्या शाहका अनुसार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गत मार्चमा गरिएको प्रतिबद्धता अनुसार नेपालमा विकट गाँउघरहरुका स्कुलहरुमा किशोरीहरुलाई महिनावारीको समयमा हुने समस्या समाधान गर्नको निम्ती आवश्यक पर्ने सेनिटरी प्याड उपलब्ध हुने भेण्डिङ्ग मेसिन जडान गरिने छ ।
पूरा रकमको ५० प्रतिशत रकम सेनेटरी प्याडसहितको भेण्डिङ्ग जडान गर्न पठाइएको छ भने बाँकी ५० प्रतिशत रकम भने गरिब विकट क्षेत्रमा रहेका महिला तथा किशोरीहरुलाई आपतकालिन स्वास्थ्य सामग्रीको रुपमा ‘डिग्नीटि किट’ वितरण गरिने शाहले जानकारी दिइन् ।
उनका अनुसार भेण्डिङ्ग मेसिनको लागि १० प्रति खरिद गर्न ३५ हजारका दरले रकम खर्च हुने भएको हो, बाँकी रकम डिग्नीटि किट खरिदमा प्रयोग गरिने छ ।
‘प्याड टू गो’ ले नेपालमा महिलाहरुको महिनावारी स्वास्थ्य अभिवृद्धि गर्न काम गर्दै आएको छ । च्यारिटी तथा टिकटबाट संकलन गरेको उक्त रकम हस्तान्तरण गरिएको उनको भनाई छ ।






