गुगल, ट्वीटर र फेसबुकविरुद्ध ट्रम्पले किन दायर गरे मुद्दा ?

न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्।

आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै उनले ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि विपक्षी बनाएर मुद्धा दर्ता गरेका छन् । उनका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद्‌ द क्यापिटलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै उनका सामाजिक सञ्जाल खाताहरू निलम्बित गरिएको थियो।

बेडमिन्स्टरस्थित गल्फ रिसोर्टबाट प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र डेमोक्र्याटहरूको आलोचना गरेका छन् । उनले भने, हामीहरू नक्कली प्रतिबन्ध, चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई त्यो सबै राम्ररी थाहा छ।

मुद्दामा आरोपित सेन्सरशीप रोक्न अदालतको आदेश माग गरिएको छ। ट्रम्पले यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन भनेका छन्।

फ्लोरिडास्थित सङ्घीय अदालतमा दायर गरिएको मुद्दाप्रति लक्षित कुनै पनि प्रविधि कम्पनीहरूले प्रतिक्रिया नदिएको बीबीसीले लेखेको छ । सामाजिक सञ्जालबाट निलम्बनमा परेपछि ट्रम्पले आफ्ना कुरा शेयर गर्न पाएका छैनन् ।

आफ्ना कुराहरु जनतामाझ पुर्याउनको निम्ती उनले आफ्नो वेभसाइट पनि बनाएका थिए । तर पछि त्यो पनि बन्द गरेका थिए ।