एनआरएनए युकेको सह-कोषाध्यक्षमा हेम कुमार गुरुङको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालको सह-कोषाध्यक्ष पदमा हेम कुमार गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए यूकेको वर्तमान कार्यसमितिमा सक्रिय भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका उनले आगामी २०२१–२३ कार्यकालका लागि यही जुलाई ३१ गते हुन गइरहेको निर्वाचनमा सह–कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गगोर्खाली समाज यूकेको उपाध्यक्ष समेत रहेका गुरुङले अग्रजहरुको सुझाव र मागअनुसार सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

बेलायतमा रहेका विभिन्न सामाजीक संघ संस्थामा क्रियाशील रहेका गुरुङको यसअघि कोरोना महामारीको समयमा बेलायतबासी नेपाली समुदायका साथै नेपालमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा समेत हुने गरेको छ ।

साथै युवा जोश र जाँगरले खारिएका गुरुङ बेलायतमा नेपालीहरुमाझ निकै परिचित अनुहार समेत हो । विश्वभरका गैर आवासीय नेपालीहरुसँग राम्रो सम्बन्ध कायम गर्न सफल गुरुङको केन्द्रीय समितिमा पनि राम्रो सम्बन्ध छ ।

सहकोषाध्यक्ष मै तपाईको उम्मेदवारी किन भन्ने प्रश्नमा उनले बेलायतबासी नेपाली समुदायको हक हितको लागि निस्वार्थ रुपमा काम गर्नका लागि आफ्नो उम्मेदवार भएको बताए ।

तपाई जतिको सक्रिय मान्छे सहकोषाध्यक्षमै किन भन्ने अर्को प्रश्नमा उनले भने, ‘पद कहिल्यै पनि सानो या ठूलो भन्ने हुँदैन, एनआरएन अभियान लामो समयसम्म चल्ने भएकाले तल्लो तहबाट काम गर्दै अनुभव बटुलेर माथि पुग्ने आफ्नो मेरो सोँच हो ।’

उनले आर्थिक पारदर्शीता, उत्तरदायीत्व र संस्थागत सुधारको लागि पनि आफूले काम गर्ने बताए । संस्थाको आर्थिक समृद्धि गर्ने र यसको पारदर्शितालाई मुख्य रुपमा बलियो बनाउनुपर्ने कुरामा जोड दिदै उनले आफूले यी विषयलाई मुख्य मुद्धा बनाएर अघि बढ्ने बताएका छन् ।