काठमाडौं । नोबेल कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदै छ ।
१० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज राति ११ बजे बेइजिङ जान लागेको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार खोप लिएर विमान भोलि दिउँसो २ बजे नेपाल फर्कनेछ र एक हप्तापछि फेरि १० लाख मात्रा खोप लिनका लागि विमान बेइजिङ पठाइनेछ । नेपाल सरकारले खरिद गरेको ४० लाख मात्रा कोरोनाविरुद्धको खोप अबको कम्तिमा चार हप्ताभित्र ल्याउने योजना रहेको निगमका महाप्रबन्धक पौडेलले बताए ।
स्वास्थ्य मन्त्रालयले भने आगामी साउन ८ गतेसम्म खोप ल्याउन लागिएको जनाएको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।
को हुन् प्राथमिकतामा परेका नागरिक ?
सरकारले चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको खोप अर्को हप्तादेखि लगाउन सुरु गरिने बताए ।
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको पनि डा अधिकारीले जानकारी दिए ।
गत वैशाख ३१ गतेबाट सुरु भएको आवेदन माग अनुसार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए । सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो ।






