लण्डन ।बेलायतको वेम्ब्ली स्टेडियममा बिहीबार सम्पन्न यूरो कप २०२० को सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको छ।
खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो।
बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेपछि इंग्ल्यान्डले बराबरी गरेको थियो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
थप समयमा भएको खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए।
उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रोकेर फर्किएको गोललाई केनले पुनः प्रहार गरि गोलमा परिणत गरेर २-१ गोलले इंग्ल्यान्डलाई अघि बढाएका थिए। डेनमार्कका जोकिम मुहले स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।
इंग्ल्यान्ड युरो कपमा पहिलो पटक फाइनलमा पुगेको हो।
यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थानमा पुगेको हो।
उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ।






