संसारमै पहिलो एन्टिभाइरस बनाउने म्याकाफी जेलमा मृत भेटिए

काठमाडौँ । विश्वमा पहिलोपटक एन्टिभाइरस सफ्टवेयर बनाउने व्यवसायी जोन म्याकाफी स्पेनको शहर बार्सिलोनाको एक जेलमा मृत भेटिएका छन् ।

कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्पेनको अदालतले स्वीकृति दिएको केही घण्टापछि उनी मृत भेटिएको बीबीसीले जनाएको छ ।

क्याटालान न्याय विभागका अनुसार उनले आत्महत्या प्रयास गरेका थिए । जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरेका थिए । तर सम्भव भएन । प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो।

म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो। पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो। सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो। उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको छ ।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभाइ र अन्यको नाममा रहेको ब्याङ्क खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो। विलासी डुङ्गा र जग्गाजमिन पनि अरूको नाममा राखेर लुकाएको आरोप लागेका उनको छवि विवादास्पद नै रहेको छ ।