लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेमा विवादका बीच सदस्यता आवेदन गर्ने म्याद ४ दिन थप गरिएको छ ।
गत २२ मार्चमा बसेको एनआरएनए यूके कार्य समितिको बैठकले अप्रिल १ तारिख देखि जुन १० तारिखसम्म सदस्यता वितरण गर्न मिति तोकेको थियो। तर शाखाका पांच जना उपाध्यक्षहरुले सदस्यता वितरण गर्ने अवधि बढाउंदा फर्जी सदस्य बनाइन सक्ने तथा एमआइएस प्रणालीको पनि दुरुपयोग हुन सक्ने भन्दै अवधि नबढाउन माग गरेका थिए।
महासचिव फडिन्द्र भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१४ जुन २०२१ राति १२ बजे सम्म रितपूर्वक आएका आवेदन मान्य हुने, सदस्यता आवेदनका मापदण्ड तथा सबै नियमहरु पूर्ववत रुपमा यथावत रहने तथा सदस्यता प्रमाणीकरणको हकमा अहिले सम्म प्रमाणित भएको बाहेक प्रमाणित हुन बांकि र नयाँ आवेदनहरु सदस्यता आवेदन मिति समाप्त भए पछि मात्र स्वीकृत गरिनेछ ।’
तर बेलायतस्थित नेपाली समाजका अगुवाहरुले हचुवाको भरमा सदस्य बन्ने अवधि थप गरिएकोमा कडा आलोचना गरेका छन्। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भारत रोका क्षेत्रीले सदस्य थप गरेर धांधली र चलखेल गर्न खोजेको आरोप लगाएका छन्।
त्यस्तै सहरा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले गाइजात्रे काम गरेर जनता हसाउने काम नगर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘जनताको विश्वास जित्न र संस्था चलाउन वचनवद्ध हुन जरुरी छ। अब चुनाव अगाडी सदस्यताको म्याद थपी जनता हसाउने र गाइजात्रे काम बन्द गरौं होला।’
यसैबीच अध्यक्ष पदका बलिया प्रत्यासी प्रेम गाहा मगरले आउंदो सोमबार भित्रै सदस्य बनेर एनआरएनए युकेमा सबै अटाउने, साझा नेतृत्व चयन गर्न आह्वान गरेका छन् । उनले सदस्यता वितरण तथा निर्वाचन प्रक्रियालाइ स्वच्छ, तटस्थ र भरपर्दो बनाउन माग गर्दै त्यसको लागि आफुहरुले खबरदारी जारी नै राखेको पनि जनाएका छन्।
नयाँ सदस्यताका लागि आवेदन गर्न आवेदकको नाम र ठेगाना खुलेको हुनु पर्ने, यूटीलिटी बिल जारी गर्ने कम्पनिको नाम देखिनु पर्ने, ६ महिना पुरानो बिललाई मान्यता नदिइने र हालैको मिति भएको प्रुफ अफ एड्रेस हुनु पर्ने जस्ता नियमहरु राखिएको छ।
यसअघि जुन १० गते राति १२ बजेसम्मको लागि म्याद राखिएको थियो । उक्त समयमा करिब ९ हजार जनाले सदस्यताको लागि आवेदन दिएका थिए ।







