लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरूलाई कोभिडविरुद्ध लड्नको निम्ती खोप वितरण तदारुकताका साथ अघि बढाउने बताएका छन् ।
विश्वका सात शक्तिशाली राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताए।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए।
प्रधानमन्त्रीले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने बताए ।
विश्वको महामारी विरुद्धको ठूलो कदम आफूले गरेको भन्दै उनले भने, यूकेको खोप कार्यक्रमको सफलताका कारण हामी आफूसँग अतिरिक्त सङ्ख्यामा रहेका खोपहरू आवश्यकता रहेकाहरूलाई दिनेछौँ ।
उक्त खोप वितरण महामारीलाई पराजित गर्न एउटा ठूलो कदम चालेकोको सावित हुने उनले बताए ।
उनले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेको उल्लेख गर्दै अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने बताए।
बीबीसीका अनुसार जी सेभेनका नेताहरूले सामूहिक रूपमा महामारीसँग जुझ्न एक अर्ब खोपको मात्रा घोषणा गर्नसक्ने ठानिएको छ।
क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटलीसहित अमेरिका र यूकेले उक्त लक्ष्य भेट्टाउन खोपको उत्पादनलाई विस्तार गर्ने योजना तय गरिरहेका छन्।
उक्त समूहको सम्मेलन आजबाट लण्डनमा शुरु हुँदैछ । त्यसको लागि अमेरिकासहितका देशका राष्ट्रप्रमुखहरु लण्डन आइसकेका छन् ।






