स्याङ्जा समाज यूकेले कोभिड रोक्न मातृभूमिलाई दियो १२ लाख ६२ हजार

लण्डन । बेलायतस्थित स्याङ्जा समाज यूकेले नेपालमा फैलिरहेको कोरोनाभाइरस महामारीविरुद्ध लड्नको निम्ति ठूलो मात्रामा आर्थिक सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष शारदा गुरुङको अध्यक्षता मा १५ मे २०२१ मा बसेको बैठकको निर्णय अनुसार बेलायतमा बसोबास गर्ने स्याङ्जा जिल्लाबासीहरुद्वारा संकलित १२ लाख ६२ हजार रुपैया स्वदेश पठाइएको हो ।

उक्त रकमले गृहजिल्ला स्याङ्जा जिल्लाको विभिन्न नगरपालिका र गाँउपालिकाका स्वस्थ केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर यन्त्र उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताए ।

संकलित कुल रकममध्ये १ लाख १४ हजार ८ सय रुपैया स्याङ्जा समाज आइसीसीलाई कोभिड सहयोगको लागी हस्तान्तरण गरिएको छ भने एक चौध हजार आठ सय रुपैया गैरआवासीय संघ यूके मार्फत कोभिड सहयोगको लागी हस्तान्तरण गरिएको छ । बाकी दश लाख ६२ हजार संस्थाका संरक्षक मेजर कुमार गुरुङको पहलमा भोलेन्टियर कोप्स च्यारिटि संस्था मार्फत वितरण गर्नेगरी नेपाल पठाइएको समाजका उपाध्यक्ष भरत गुरुङले बताए ।

यसरी यो छोटो समय भित्र आफ्नो देशमा परिआएको विपत्तीविरुद्ध लड्नको निम्ती सहयोग संकलन गर्न पाउँदा निकै खुशी लागेको भन्दै अध्यक्ष शारदा गुरुङले यस अभियानमा साथ दिने स्याङ्जा समाज यूकेका संरक्षक, सल्लाहकारहरु, कार्यसमिति आमा समूह तथा सदस्यहरु सबैमा आभार व्यक्त गरे । उक्त अभियानलाई सफल पुर्याउन महत्त्वपूर्ण भुमिका संस्थाका संरक्षक मेजर कुमार गुरुङले खेलेका थिए ।

संस्थाले गरेको उक्त परोपकारी कामबारे बरिष्ठ सल्लाहकार डेविड गुरुङले लन्डन नेपाल न्युज सँग भने आपत विपतमा आफूहरु परदेशमा भएपनि समस्या पर्दा स्वदेशको निम्ती ज्यान दिन तयार रहेको बताए । आगामी दिनमा पनि यसप्रकारका कामहरु गर्न कटिबद्ध भएर लाग्ने उनको भनाई छ ।समाजका महासचिव बलराम ढकालले समस्याविरुद्ध लड्न बेलायतमा जिल्लाबासी एकबद्ध रहेको बताए ।

बेलायतमा संस्था गठन भई काम शुरू गरेदेखि नै यस संस्थाले जिल्लामा घट्दै गएका विभिन्न आपतविपदका घटनामा साथ दिने मात्र नभएर संस्कृति सम्पदा संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।