बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने, विज्ञले दिए चेतावनी

लण्डन । बेलायतमा कोरोनाभाइरस महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिइएको छ ।

बेलायत सरकारको सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक तथा वैज्ञानिक रवि गुप्ताले देशमा तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका हुन् ।

उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताए ।

तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको उनको भनाई छ । उनले भने, ‘हुनत हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।’

यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको उनको दावी छ । बीबीसीसँगको कुराकानीमा सोमबार उनले भने, ‘अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् ।’

शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले थपे । बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।

हाल भारतीय भेरियन्ट बेलायतमा देखिन सक्ने भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले पनि उक्त भेरियन्टबाट जोगाउने प्रयास स्वरुप खोप अभियानलाई अझै तिव्रता दिएको छ । भारतमा देखिएको नयाँ भेरियन्ट बढी सँक्रामक भएको भन्दै सर्वत्र चिन्ताको विषय भएको छ ।