बेलायतमा कोडिभविरुद्धको खोप लगाउने काम कसरी भइरहेको छ ? सबै नालिबेली

लण्डन । भारतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजातिको कारण बेलायतमा उच्च सतर्कता अपनाइएको छ । कोभिडविरुद्धको खोप लगाउने कार्यलाई द्रुततर हिसाबले अघि बढाइएको छ ।

एक नयाँ अध्ययनका अनुसार फाइजर र एस्ट्राजेनेका खोप भारतमा पहिचान गरिएको भेरियन्ट विरूद्ध लड्न अत्यन्तै प्रभावकारी रहेका छन् ।

हाल बेलायतमा कसलाई दिइदैछ खोप ?

इंगल्याण्डमा यतिबेला ३२ र ३३ बर्ष उमेर समूहका मानिसहरुले अनलाइन अथवा राष्ट्रिय बुकिंङ्ग सेन्टरमा गएर खोपको पहिलो डोजको निम्ती आवेदन दिन सक्नेछन् ।

स्कटल्याण्डमा ३० बर्ष र सोभन्दा माथिका मानिसहरुले खोप लगाउन पाउनेछन् । केही क्षेत्रमा १८ बर्ष भन्दा माथिका मानिसहरुलाई पनि खोप दिन थालिएको छ ।

वेल्समा १८ बर्ष भन्दा माथिका सबै मानिसहरुलाई खोप दिने क्रम चलिरहेको छ । नर्दन आयरल्याण्ड मा २५ बर्ष र सोभन्दा माथिका मानिसहरुलाई खोप दिनको निम्ती बुक गर्न आह्वान गरिएको छ ।

कुन समूहले लगाए खोप ?

उमेर समूहको हिसाबले बेलायतमा अधिकतम खोप लगाउने क्रम सकिएको छ ।

हालसम्म फ्रन्टलाइनमा काम गर्ने, सामाजिक सुरक्षामा काम गर्ने मानिसहरु, स्वास्थ्यअवस्था जटिल भएका मानिसहरु, १६ बर्ष भन्दा माथिका स्वास्थ्य जटिलताका कारण कोभिडको जोखिम बढी भएका मानिसहरुलाई खोप लगाइसकिएको छ ।

तपाईँको दोस्रो मात्रा लगाउने पालो कहिले ?

भ्याक्सिनको दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाएको १२ हप्तामा दोस्रो मात्रा लगाएमा मात्र प्रभावकारी रुपमा खोपले काम गर्न सक्छ ।

५० बर्ष माथिका मानिसहरु र स्वास्थ्य जटिलता भएका मानिसहरुले अबको आठ हप्तामा बेलायतमा खोप लगाउन पाउनेछन् ।

यूकेमा फाइजर, एस्ट्राजेनेका र मोडर्नाको खोप लगाइएको छ । उपलब्ध भएको अवस्थामा ४० बर्ष भन्दा मुनिका मानिसहरुलाई वैकल्पिक रुपमा अक्सफोर्ड एस्ट्राजेनेका खोप दिइनेछ ।

दुई प्रकारका खोपहरु मिक्स गरेर लगाउन पाइन्छ ?

यूकेमा दुई प्रकारका खोपहरु लगाउन पाइने या नपाइने विषयमा अध्ययन भइरहेको छ । यो अध्ययनले फरक फरक कम्पनीका खोप लगाएको खण्डमा प्रभावकारी हुन्छ या हुँदैन भन्नेबारे अध्ययन गरिरहेको होे ।

तर हालसम्मको अध्ययनका अनुसार पहिलो मात्रा जुन खोप लगाइएको हो, त्यही खोप नै दोस्रो डोजको रुपमा लगाउनुपर्ने भनिएको छ । तर कुनै कुनै अवस्थामा फरक फरक खोप लगाउन सकिने बताइन्छ ।

नयाँ भेरियन्टको लागि भ्याक्सिनले काम गर्छ ?

इंगल्याण्डमा भएको अध्ययन अनुसार इन्डियन भेरियन्ट विरुद्ध फाइजर र एस्ट्राजेनेका खोप अत्यन्तै प्रभावकारी मानिएको छ । भारतमा भेटिएको भायरस अन्य भन्दा निकै छिटो फैलने चिकित्सकहरुले बताएका छन् ।

तेस्रो मात्रा कहिले ?

नयाँ भेरियन्टविरुद्ध लड्नको निम्ती तेस्रो मात्र लगाउन आग्रह गरिएको छ ।  अधिकारीहरुले सबै उमेर समूहका ३ हजार मानिसहरुलाई तेस्रो मात्राको खोप दिएर नयाँ भेरियन्टविरुद्ध लड्न प्रभावकारी भए/नभएको बारे अध्ययन गर्देछन् ।

यूकेमा कति डोज खोप छ ?

यूकेले ८ प्रकारका खोप अर्डर गरेको छ जसमा ५१७ मिलियन खोप आउने लक्ष्य छ । एस्ट्राजेनेका १०० मिलियन, फाइजर १०० मिलियन, भाल्नेभा १०० मिलियन, ग्यालेक्सोस्मिथक्लिन ६० मिलियन, नोभाभ्याक्स ६० मिलियन, क्युरभ्याक ५० मिलियन, जनसेन ३० मिलियन र मोडर्नाको खोप १७ मिलियन डोज अर्डर गरिएको छ ।

– बीबीसीको सहयोगमा, फोटो गेट्टी इमेजेज