तक्दीर अधिकारी
सिड्नी । सिड्नीमा तेस्रो किड्स फिटनेस च्यालेन्ज प्रतियोगिता सम्पन्न भयो । वरिवर मार्सल आर्टस एन्ड फिटनेसले आयोजना गरेको उक्त प्रतियोगितामा ४० जना जति बालबालिका उनीहरुका अभिभावकहरु र कम्युनिटी लिडरसहित झन्डै डेढ सय जनाको सहभागिता रहेको थियो । अभिभावकहरुबीच पनि फिटनेस प्रतिस्पर्धा गराइएको फिटनेसका निर्देशक प्रकाश क्षेत्रीले जानकारी दिए ।
फिटेस प्रतियोगिताको जुनियर महिलामा ६ वर्षीय क्रिश्टिना थापा उत्कृष्ट भइन भने टिनएजरमा डोमेनिक मोक्तान र समग्रमा जोसेप क्षेत्री प्रथम भए । सहभागी सबै बालबालिकालाई पुरस्कार वितरण गरियो ।

विजेता र सहभागी खेलाडीहरुलाई प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ र ग्रान्ड मास्टर बिलाल जमिल इलमोए पदक र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । मिन्टको रनमुरी कम्युनिटी सेन्टरको अगाडिको चौरमा प्रतियोगिता गराइएको थियो । कार्यक्रमको सञ्चालन युवा उत्पे्ररक विनोद पौडेलले गरेका थिए ।

कम्युनिटी लिडरहरु देबेन्द्र सापकोटा, प्रकाश हुमागाई, दिनु कोइराला, फिटनेसका संस्थापक विष्णु खत्री, सूर्य गौतम, देवेन्द्र सापकोटा, विष्णु घिमिरे, यशोदा श्रेष्ठ,कुशल के.सी , सन्देश राजभन्डारी ,साउथ वेस्ट नेप्लिज स्पोर्टसका अध्यक्ष सूर्य खनाल लगायतको सहभागिता थियो ।
वरिवर मार्सल आर्टस एन्ड फिटनेसले सञ्चालन गरेको प्रतिस्पर्धा यो तेस्रो संस्करण हो । यसअघि सन् २०१९ को सेप्टेम्बरमा पहिलो, गत वर्षको डिसेम्बरमा दोस्रो र यसपटक आयोजना गरिएको तेस्रो भएको फिटनेसका निर्देशक क्षेत्रीले जानकारी दिए ।
नेपाली समुदायलाई खेलकुदप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । तेक्वान्दो प्रतियोगितामा नेपालीहरुको आकर्षाण बढाउन क्षेत्री लामो समयदेखि प्रयासरत छन् ।







