सिड्नी। नेपाली चलचित्र गोर्खे सिड्नीमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई डिब्वाइज इभेन्टले अस्ट्रेलिया भित्र्याएको हो । डिब्वाइजका प्रवन्ध निर्देशक गणेश मल्ल ठकुरीका अनुसार नेपालमा पनि कोरोनापछि सम्भवतः दोस्रो चलचित्र हो ।
सिड्नीमा कोरोना संक्रमणपछि ल्याइएको पहिलो नेपाली फिल्म हो । यो हर्षभिलको सिबिक हलमा २६ मार्च शुक्रबार साँझ ६ बजे प्रिमियर सो हुँदैछ । तत्काल सिड्नीको सिबिक हलमा मात्र फिल्म प्रदर्शनका लागि हल बुक गरिएको छ । निर्देशक ठकुरीले भने, ‘त्यसपछि हेरौं कस्तो परिस्थिति बन्छ । हुन त हामीले ताजमानिया, मेलवर्न र न्यूक्यासलमा पनि प्रदर्शन गर्ने योजना बनाएका छौं । यी स्थानमा प्रदर्शनका लागि कुरा मात्र भएको हो, कोभिडले गर्दा राम्रो रेस्पन्स आएको छैन ।’ किम्मत गौतमको निर्देशन रहेको फिल्मले गोर्खाली सैनिकहरुको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना युवाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
नेपाली परिवेशमा निर्माण भएको चलचित्र हो । नेपाली गाउँमा जन्मेको युवा देशका लागि केही गरौं भनेर गोर्खा सैनिकमा भर्ती हुने सपना बोकेको युवाको सेरोफोरोमा चलचित्र केन्द्रीत छ । कोरोना संक्रमणले गर्दा हामीले सीमित टिकट मात्र बिक्री हुनेछ, ठकुरीले भने, ‘१६५ वटा टिकट मात्र बिक्री हुनेछ । अहिलेसम्म राम्रैसँग बिक्री भइरहेको छ । सम्मानित व्यक्तित्वका लागि ४० भीआईपी टिकटको व्यवस्था गरिएको छ । यो भीआईपी टिकट ५० प्रतिशत बिक्री भइसकेको छ । सम्पूर्ण टिकट लगभग बिक्री भइसकेको अवस्था हो । कोरोना प्रभावले गर्दा १ सय ६५ जनाभन्दा बढी हलमा राख्न पाइँदैन । ’ प्रवन्ध निर्देशक ठकुरीले भने, ‘मेरो डिब्वाइज भन्ने इभेन्ट छ, त्यही मार्फत् यो चलचित्र अस्ट्रेलियामा ल्याइएको हो । यही संस्थामार्फत् अस्ट्रेलियामा फिल्म प्रदर्शन गर्दै आएको हो । यो हाम्रो सुरुवात मात्र हो, हामीसँग प्रशस्तै फिल्महरु छन् । अस्ट्रेलियाको बोर्डर खुलेपछि सांगीतिक कार्यक्रमहरु पनि हुनेछन् । चलचित्रलाई ओसिस एजुकेशनले स्पन्सर गरेको छ।






