बीसीसी यूकेले गर्याे प्रसिद्ध गुरूको सहभागितामा बुद्ध धर्मको महत्वमा विशेष प्रशिक्षण

लण्डन । बिसीसी लन्डन इकाईले २१ औं शताब्दीमा बौद्ध धर्मको महत्वबारे विशेष प्रशिक्षण सम्पन्न गरेको छ । जुम प्रविधिमार्फत भर्चुअल रूपमा आयोजना गरिएको उक्त प्रशिक्षणमा बौद्ध धर्मका प्रसिद्ध टुल्कु जमुयांग रिनपोछे Tulku Jyamyang Rinpochhe गुरूले बुद्ध धर्मको महत्वको विशेषमा प्रवचन दिएका थिए ।

बुद्वधर्म सम्बन्धि नेपालबाट विश्वप्रख्यात र युवाहरूको अति नै प्रिय मानिने प्रशिक्षक गुरु रिनपोछेले बुद्ध धर्मको महत्वबारे प्रकाश पारे । आफने प्रवचनमार्फत गुरुले बुद्ध धर्मले सिकाएको सत्य र अहिंसाको बाटो सबै धर्मालम्बीहरुले मान्नुपर्ने बताए । भगवान गौतम बुद्धले सिकाएको सत्य र अहिंसाको बाटोमा लाग्न सुझाव दिदै उपस्थित सबैले बुद्ध धर्मले सधै शान्तिको मार्गमा हिड्न सिकाएको बताए ।

संस्थाका अध्यक्ष गम्मरसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आमा समूहकी अध्यक्ष अन्तिम गुरूङले संयोजन गरेकी थिइन् ।संस्थामा मात्र नभएर संस्था बाहिर पनि समाजसेवामा अत्यन्तै सक्रिय रूपले अघि बढ्ने गरेकी आमा समूहकी अध्यक्ष अन्तिम गुरुङले यस कार्यक्रमले बुद्ध धर्मको महत्व अझै बढाएको बताइन् । यस कार्यक्रमबाट बुद्ध धर्मबारे अझै बढी जान्न पाउँदा गौरवशाली महसुस गरेकी छु, उनले लण्डन न्युज संग भनिन् ।

संस्थाका संस्थापक काजी शेर्पा लगायतको उपस्थिती रहेको कार्यक्रममा कोषाध्यक्ष मेजर हितमान गुरुङ, शान्ति लामा लगायतले बुद्ध धर्मको विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागि भएका समाजसेवी तथा तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष डेविड गुरुङले यस कार्यक्रमबाट आफूले बुद्ध धर्म सम्बन्धी अथक ज्ञान सिक्न पाएको भन्दै हर्ष व्यक्त गरेका थिए ।फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रमको सञ्चालन रबिन गुरुङले गरेका थिए।

कार्यक्रममा बुद्ध धर्मको महत्वको बारेमा जानकारी लिन तथा बुझ्न बुद्ध धर्मप्रति आस्था राख्ने धेरै व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।