काठमाडौं, वैशाख १४– विश्वका नेताहरुले शनिबार गएको भूकम्पको अवस्थाबारे सामाजिक सञ्जाल तथा कार्यक्रममा दुःखमनाउ गर्दै सहयोग गर्ने वाचा गरेका छन् ।
बाराक ओबामा, अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति बाराक ओबामालाईनेपाल भूकम्पबारे विशेष ब्रिफिङ गरिएको छ । ब्रिफिङपछि ओबाले नेपालमा सहयोग गर्नका लागि निर्देशन दिएका छन् । उनकै निर्णयमा अमेरिकाले नेपाललाई १० लाख अमेरिकी डलर दिने भएको छ । ब्रिफिङपछि ओबामाले प्राकृतिक विपत्तिका कारण नेपाल दुखमा परेका बताएका छन् । उनले यो दुखको घडीमा धैर्यधारण गर्न शक्ति मिलोस् भन्ने पनि कामना गरेका छन् । ओबामाले उद्धारको लागि सबैलाई जुट्न पनि आग्रह गरेका छन् ।
नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भूकम्पबारे बारम्बार ट्विट गरेका छन् । उनको नियमित कार्यक्रम मोदीसँग मनका कुरामा पनि भूकम्प र भूकम्पले पर्याएको क्षति र उद्धारका कार्यक्रमबारे चर्चा गरिएको छ । सबैभन्दा पहिले गरिएको ट्विटमा मोदीले लेखेका थिए, ‘भूकम्पका कारण दुख महसुस गरेको छु । उद्धारका लागि घरमा र छिमेकी नेपालमा सक्दो सहयोग गर्न मेरो सरकार लाग्नेछ ।’ नियमित कार्यक्रममा उनले भने, ‘हामी नेपालीको आँशु पुछ्न प्रयत्न्न गर्छौं ।’
डेभिड क्यामरुन, बेलायती प्रधानमन्त्री
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आकस्मिक बैठक बोलाएर नेपाल भूकम्पबारे विशेष चर्चा गरेका थिए । बैठकमा उनले नेपालमा उद्धारका लागि नेपालस्थित बेलायती संघसंस्थालाई जागरुक बनाउन र क्रियाशिल राख्न निर्देशन दिएका थिए । बैठकमा उनले नेपालीलाई परेको विपद् विश्वकै लागि दुःख भएको बताए । क्यामरुनले नेपालमा सहयोग गर्नका लागि आफूहरु हरक्षण तयार रहेको बताएका छन् । उनले यस विषयमा ट्विट गरेर सबैलाई सुरक्षित रहन अनुरोध गरेका छन् ।
नवाज सरिफ, पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले छिमेकी देश नेपालमा गएको भूकम्पले अत्यन्तै दुखी बनाएको बताएका छन् । उनले नेपाली जनतालाई यतिबेला सहयोगको आवश्यकता रहेको भन्दै पाकिस्तान हरसम्भव सहयोगका लागि तत्पर रहेको बताएका छन् । पाकिस्तानले घोषणा गरिसकेको सहयोग प्रारम्भिक भएको र आवश्यक परेमा थप सहयोग गर्न सकिने सरिफले बताएका छन् । सरिफले दुखको घडीमा नआत्तिन सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।
सी जिनपिङ, चिनियाँ राष्ट्रपति
चिनियाँ राष्ट्रपति सी जिनपिङले सुन्दर नेपाललाई ठूलो समस्या परेको र उद्धारका लागि चीन हमेसा तयार रहेको बताएका छन् । उनले चिनियाँ हसयोग आवश्यक परेका बेलामा थप गर्न कुनै कन्जुस्याईं नगर्ने वाचा गरेका छन् । एउटा छिमेकीलाई दुख पर्दा आफूले पनि दुखको अनुभूति गरेको सीले बताएका छन् । उनले नेपालमा रहेको चिनियाँ नागरिक र संघसंस्थालाई उद्धारमा सहयोग गर्न पनि निर्देशन दिएका छन् । दुखको यो घडीमा धैर्यताका लागि साहस मिलोस् भन्ने उनको कामना छ ।
एन्जेल मर्केल, जर्मन चाल्सलर
जर्मन चाल्सलर एन्जेला मर्केलले पनि नेपाल भूकम्पबारे चर्चा गरेकी छन् । उनले आफ्नो पार्टीको बैठकमा नेपालमा सहयोग पठाउनेबारे सोच्न अनुरोध गरेकी छन् । मर्केलले प्राकृतिक बिपत्तिका कारण भएको घटनाले नेपालमा मात्र होइन, विश्वलाई नै दुःखी बनाएको बताएकी छन् । मर्केलले ट्विटरमा पनि नेपाल भूकम्पबारे लेखेकी छिन् । उनले उद्धारका कुनै समस्या भए विश्वले नै नेपाललाई सहयोग गर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।
जोन केरी, अमेरिकी विदेशमन्त्री
अमेरिकी विदेशमन्त्री जोन केरीले नेपालको विपद्लाई विश्वले बुझ्नुपर्ने र आवश्यक सहयोगका लागि तत्पर रहनुपर्ने बताएका छन् ।केरीले अमेरिकाले गरेको सहयोगले केही भएपनि राहत मिलोस् भन्ने कामना गरेको बताएका छन् । केरीले अमेरिकामा रहेका नेपालीलाई भेट्न पनि खोजिरहेको अमेरिकी विदेश विभागले जनाएको छ ।






