कोलम्बो । श्रीलङ्काका कारागारमा २६ जना नेपाली महिला रहेको पाइएको छ । विभिन्न मुलुकमा जाने क्रममा ट्रान्जिटका रुपमा श्रीलंकाको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलंका प्रहरीले पक्राउ गरेको बीबीसीले लेखेको छ ।
ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बताए ।
‘चाँडै उनीहरुलाई रिहा गर्ने सम्भावना भने निकै न्यून छ । हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ। अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ।’ भण्डारीले भने।
नेपालका विभिन्न क्षेत्रका महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउनका लागि छिमेकी मुलुक भारतका पूर्वोत्तर राज्यका नाकाहरूको प्रयोग बढ्दै गएको छ। अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वोत्तर राज्यहरू मिजोरम तथा मणिपुरबाट सोझै म्यान्मार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उक्त रूटको प्रयोग अहिले बढ्दो क्रममा रहेको बताइएको छ।
गत असार ३० गते मात्र नेपालका २१ महिलालाई दिल्लीस्थित नेपाली दूतावासको पहलमा भारतीय राज्य मणिपुरबाट नेपाल ल्याइएको थियो। केही समय अघि दुई पटक गरेर श्रीलङ्काबाट १० जना नेपाली महिलालाई उद्धार गरेर नेपाल पठाइएको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ।
भारतका उत्तरपूर्वी राज्यहरू हुँदै म्यान्मारदेखि खाडी मुलुकसम्म जान मानव तस्करहरूले सोही बाटो विगतदेखि रोज्दै आएका छन्। केही वर्षदेखि श्रीलङ्का ट्रान्जिटको रूपमा विकसित हुँदै गरेको माइती नेपालले जनाएको छ।
चालु आर्थिक बर्षमा भारत र श्रीलङ्काबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाको सङ्ख्या ५२ रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता टेकराज निरौलाका अनुसार वैदेशिक रोजगारी जाँदा भारत र श्रीलङ्कामा नेपाली महिलाहरू विभिन्न प्रकारका दुःख पाएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो।






