अष्ट्रेलियामा कोभिडविरुद्धको खोप लगाउन शुरु, प्रधानमन्त्रीले मोरिसनले लगाए पहिलो डोज

सिड्नी । अष्ट्रेलियामा औपचारिक रुपमा फाइजर नामक कोभिडविरुद्धको खोप लगाउने क्रम शुरु भएको छ । आइतवार पहिलो खोप ८४ बर्षीय जेन मलिसियाकले लिएका छन् । यसैगरी प्रधानमन्त्री स्कट मरिसन र चिफ मेडिकल अफिसर प्रोफेसर पल केलीले पनि आजै खोपको पहिलो डोज लगाए ।

उनीहरुले सिड्नीको क्यासल हलमा कोभिडविरुद्धको खोप लगाएका हुन् । खोपको पहिलो डोज लगाउँदै प्रधानमन्त्री मरिसनले देशमा गरिएको यो हालसम्मकै ठूलो भ्याक्सिनेसन कार्यक्रम रहेको भन्दै यस कार्यमा साथ दिने सबैलाई धन्यवाद दिए ।

‘यो एक ऐतिहासिक दिन हो, आजको दिन गेम चेन्जर हो, यसमा कुनै शंका छैन’, उनले भने, ‘यसले देशमा महामारीको परिस्थितीलाई परिवर्तन गरिदिनेछ ।’ पहिलो चरणमा क्वारेन्टिन क्षेत्र र सीमा क्षेत्रका कर्मचारीहरू, अग्र मोर्चामा कार्यरत स्वास्थ्य अधिकारीहरू, वृद्ध हेरचाह केन्द्र तथा अशक्त केन्द्रका कर्मचारीहरू, वृद्ध हेरचाह केन्द्रका निवासीहरूलाई खोप दिइने योजना रहेको छ ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले एक लाख ५२ हजार डोज खोप आइसकेको भन्दै २२ गतेदेखी देशभर नै काभिड खोप लगाउने जानकारी दिएका छन् । फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएको कारण सोही अनुसारको तापक्रम निश्चित गरेर सुरक्षित रुपमा सर्वसाधारणलाई लगाइने उनले बताए । हाल आएको खोपलाई जनसंख्याको आधारमा सबै राज्यहरुमा वितरण गरिने भएको छ ।

यसअघि प्रधानमन्त्री स्कट मरिसनले मार्च महिनाको अन्त्य सम्म ४० लाखलाई भ्याक्सिन दिईसक्ने योजना रहेको बताए । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ ।

तस्वीरः www.smh.com.au