पूर्व प्रधानमन्त्री भट्टराई उपचारका लागि दिल्ली प्रस्थान

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारत प्रस्थान गरेका छन् ।

नेपाल वायुसेवा निगमको जहाजबाट उनी आज स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

उनको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका डा. भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले त्यसको उपचारका लागि दिल्ली जान लागेका हुन् ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ नेपाली दूतावासमा हुने पनि बताइएको छ ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत तस्वीरहरु सार्वजनिक गर्दै दिल्ली प्रस्थान गरेको जानकारी दिएका छन् ।