बेलायतमा ओली समूहको प्रवासी नेपाली एकता मञ्च गठन, अध्यक्षमा भक्त गुरुङ

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेसँगै विभाजित बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका भातृ तथा शुभेच्छुक संगठनहरुपनि विभाजित हुन थालेका छन् ।

यसैगरी कार्यसमितिमा रहेका अधिकाशं पदाधिकारीहरु प्रचण्ड–माधव समूहमा लागेपछि नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको बेलायतको सङ्गठनको पुनर्गठन भएको छ ।

प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ ।

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १२५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्यी केन्द्रिय कार्यसमिति गठन गरिएको छ  ।

बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ ।

यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहेका छन् ।

बाह्र जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्वएमालेका तर्फबाट र महासचिवमा पूर्वमाओवादीका तर्फबाट रूपमा सुरेशजङ्ग शाह रहेका छन्

आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारिकरुपमा उद्घाटन गर्दै पूर्वसभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताए ।

गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले यो कदम चालेको र अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गराउने समेत बताए ।

हालसम्मको कार्यसमितिमा रहेका अध्यक्ष र सचिब प्रचण्ड–माधव समूहमा रहेको कारण ओली पक्षले नयाँ कार्यसमिति बनाएको हो ।