तक्दीर अधिकारी
सिड्नी । प्रवासी नेपाली विद्यार्थी संगठनको प्रथम बार्षिकोत्सब कार्यक्रम ७ फेब्रअरीमा आयोजना गरिएको छ । संस्था स्थापना भएको एक बर्षसम्म भएगरेका उपलब्धिहरुको समीक्षा गर्ने र नयाँ कार्यनीति बनाउने उद्धेश्य सहित बार्षिकोत्सब कार्यक्रम आयोजना गरिएको छ ।
नमस्ते रेष्टुरेन्ट एन्ड फंसनमा आयोजना गरिएको उक्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको प्रमुख आतिथ्यता रहनेछ भने अस्ट्रेलिया स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत दिपक खड्का, एनआरएनए आइसीसी उपाध्यक्ष मना केसी, एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ्ग, एका अध्यक्ष भूपाल सिटौला, न्यू साउथ वेल्समा २०१७ को स्टुडेन्ट अफ दि इयर अवार्ड पाएका यम प्रसाद धितालको विशेष उपस्थिती रहने अध्यक्ष सम्राट वलीले जानकारी दिए ।
उक्त अवसरमा अन्य संघसंस्थाका पदाधिकारीहरु पनि सहभागि हुनेछन् । कोरोनाभाइरस महामारीको नियन्त्रण गर्न सरकारले तोकेको मापदण्ड अनुसार नै उक्त कार्यक्रम गरिने उनले जनाए । अध्यक्ष वलीले उक्त कार्यक्रममा संस्थाले पहिलो बर्षमा गरेको कार्यहरुको संक्षिप्त विश्लेषण गरिने बताए ।
हालसम्म आधिकारिक रुपमा सिड्नीमा मात्र रहेको उक्त संस्थाले अस्ट्रेलियाका अन्य राज्यमा पनि कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।
सबै स्टेटमा जिम्मेवारी बाँड्ने र संरचना बनाउने गरी बार्षिकोत्सबको दिन गूगल फर्म फर्म घोषणा गरिने अध्यक्ष वलीले बताए । उक्त फर्ममा आवेदन दिनेहरु मार्फत स्टेटमा जिम्मेवारी दिइने छ ।
‘यत्तिकै हामीले व्यक्ति सेलेक्सन गर्याै भने आफ्नो या पार्टीको मान्छे राख्यो भन्न थाल्छन भनेर नै निष्पक्ष बनाउनको निम्ती फर्म बनाएका हौँ ।’ उनले भने । एउटै पदमा धेरैले फर्म भरेको खण्डमा उनीहरुको अनुभव देखि अन्य विवरणहरु हेरेर छनौट गर्ने उनको भनाई छ ।
गत बर्ष सम्राट वलीको अध्यक्षतामा प्रवासी नेपाली विद्यार्थी संगठन स्थापना गरिएको थियो । जसको सचिवमा प्रतीभा घर्ति मगर, कोषाध्यक्ष गगन केसी रहेका छन् ।
संस्थाले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि आपतकालीन सहायता राहत कोष निर्माण अभियान समेत चलाएको छ ।






