तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा साहसिक खेल प्रबर्द्धन गरिररहेको गोेर्खाज तेकवान्दो अष्ट्रेलियालाई अर्काे सफलता प्राप्त भएको छ ।
यही जनवरी २६, २७ र २८ गते आयोजना गरिएको नेपाल ओपन इन्टरनेशनल भर्चुअल पुम्से हाइ स्पिड किक एन्ड प्यारा तेकवान्दो च्याम्पियनशिपमा गोर्खाजका ३ जना सहभागिहरुले मेडल जितेका छन् ।
नेपाल तेक्वान्दो चिफ कोच नविन कुमार श्रेष्ठ संयोजक रहेको उक्त च्याम्पियनशिपलाई नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गरेका थिए ।
कोरोनाभाइरस महामारीको कारण भर्चुअल रुपमै गरिएको प्रतियोगीतामा विभिन्न देशमा रहेका १३ सय भन्दा बढी सहभागि रहेका थिए । जसमध्ये गोर्खाज तेक्वान्दोका बेलिशा श्रेष्ठले आफनो उमेर समूहमा प्र्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी बिजेश थपलिया दोस्रो र आरोग्य अर्याल तेस्रो भएका छन् । उनीहरु सबै आफ्नो विधा र उमेर समूहमा उक्त सफलता हासिल गरेका हुन् ।
प्रतियोगितामा साफ मेडलिस्टहरु पनि सहभागि थिए । सहभागिहरुले प्रतियोगितामा तोकिएको मापदण्ड पूरा गरि भिडियो बनाइ आयोजकलाई पठाएका थिए । आयोजकले सबैको भिडियो युट्युबमा अपलोड गरेको थियो । ती भिडियोहरु अन्तराष्ट्रिय रेफ्रीहरुले निर्णय गरी विजेता घोषणा गरेका थिए ।
आफ्ना तीन जना प्रशिक्षार्थीहरुले मेडल प्राप्त गरेकोमो गोर्खाज तेक्वान्दोका कोच जीवन जोशी खुशी छन् । ‘हामीले अष्ट्रेलियामा नेपालीहरुलाई सिकाइरहेको तेक्वान्दो खेलको निम्ती यो अर्काे सफलता हो’, लण्डन नेपाल न्यूजसंग उनले भने, ‘यसले हामीलाई थप हौसाएको छ ।’

नेपालमा करिब २० बर्ष तेक्वान्दोको अनुभव बटुलेका जीवन जोशीले २०१८मा अष्ट्रेलियाामा गोेर्खाज तेकवान्दोे स्थापना गरेका थिए ।
इन्टरनेशनल मास्टर इन्सट्रक्टरको उपाधि समेत पाएका जोशीले सन् २०१८ मा कोरियामा इन्टरनेशनल मास्टर इन्सट्रक्टर पास गरेका थिए ।ग्रानविलमा मुख्यालय रहेको गोर्खाज तेक्वान्दोले हालैमात्र उडक्रप्टमा पनि नयाँ शाखा खोलेको छ ।
आफुले सिकेको सीप अरुलाई सिकाउने र नेपाली समुदायमा पनि तेक्वान्दोको महत्व बुझाउने उद्धेश्य सहित अष्ट्रेलियामा व्यवसाय शुरु गरेको उनले बताए । कोभिड १९ महामारीले तहसनहस बनाइरहेको अवस्थामा आयोजित यस त्याम्पियनसिपले खेलाडीहरुको हौसला बढेको जोशीले बताए । गोर्खाज तेकवान्दोले सिड्नीमा ३ बर्षदेखि तेक्वान्दो सिकाउँदै आइरहेको छ ।
यसअघि आइओएफटिसीले हरेक दुई बर्षमा आयोजना गर्ने अन्तराष्ट्रिय आइओएफटिसी पुम्से च्याम्पियनशिपमा गोेर्खाज तेकवान्दो अष्ट्रेलियाका ७ जना खेलाडीले मेडल प्राप्त गरेका थिए ।






