काठमाडौँ । गुल्मीका प्रसिद्ध गायक सन्तु थापाले नयाँ मौलिक पञ्चेबाजा गीत “लाहुरे दाईलाई” बजारमा ल्याएका छन् ।
गायक थापा र समिक्षा भण्डारीको संयुक्त स्वरमा सजिएको उक्त गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुतीमा बजारमा ल्याइएको उक्त गीतमा अनिश दवाडीको शब्द, प्रेमा राना मगर, रुपी सिंजाली मगर, ओम सेन्चुरी र अमित सुनारको गीत कोरस रहेको छ भने खेम सेन्चुरीको संगीत र विश्वाश नेपालको संयोजन रहेको छ ।
कुमार रानाले अडियो मिक्सिङ गरेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । सन्तु थापा आफैले निर्देशन भिडियो मधुर बस्नेतले खिचेका हुन । केशब आलेको कोरियोग्राफी रहेको भिडियोमा सुमित्रा गुरुङ “बिनिता”, सन्तोष मगर, टहलसिंह फुङ्जेली, गितु पुन, अमृता गुरुङ, कपिल मगर, मनिष सेवाल, सुनिल रजाली, सुश्मा राजाली, मनिषा रजाली, अरुणा घर्ती लगायतको अभिनय तथा नाच समेटिएको छ ।
मनोज कार्कीले सम्पादन गरेको भिडियो लुमिनिअस पोस्टवक्र्सको पोस्ट्प्रोडक्सनमा तयार भएको गायक थापाले बताए ।
झन्डै १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला, कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत, तीज ब्याटल, लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन् । केही समय पहिला मात्र थापाको बिदेशिएका युवाको मर्म बोकेको “परदेशीको पिडा” सार्वजनिक भएको थियो भने त्यस लगत्तै थापाको गुल्मी चिनारी गीत “गुल्मेली ठिटो” बजारमा आएको थियो ।
आफ्ना केहि गीतहरुको म्युजिक भिडियो आफैले निर्देशन गरेका उनले एक झ्याउरे गीतमा आफै अभिनय पनि गरेका छन् । सांगीतिक यात्राकै शिलशिलामा युके, दुबई, मलेसिया, थाईल्याण्डसम्म पुगेका सन्तुले भारतका र युरोपका बिभिन्न देशहरुमा थुप्रै कार्यक्रमहरु गरिसकेका छन् ।
गुल्मी समाज यूकेको आयोजनामा बेलायत समेत आएका थापाले गुल्मेली पश्चिमेली भाकाको संरक्षण तथा नेपाली लोकसंस्कृतिको संरक्षणमा कटिबद्ध हुँदै आएका छन् ।
भिडियो






