बेलायतमा समयअगावै लकडाउन अन्त्य गर्न प्रधानमन्त्रीले गोप्य योजना ल्याउँदै

लण्डन । बेलायतमा कोरोनाभाइरस महामारी नियन्त्रण बाहिर गएसँगै लगाइएको तेस्रो चरणको देशव्यापी लकडाउन तोकिएको समयभन्दा चाँडै अन्त्य गर्न नयाँ योजना ल्याइने भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन प्रतिबन्धहरू अन्त्य गर्न गोप्य योजना सुरू गर्न लागेको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रधानमन्त्रीले १० जना अधिकारीलाई समयमै प्रतिबन्धहरूलाई खारेज गर्ने विस्तृत योजना निर्माण गर्ने जिम्मेवारी तोकिदिएका छन, जसअनुसार परिवारहरूलाई आफ्नो विदा अर्थात होलिडेहरुमा रमाउन सक्नेछन् ।

बेलायती पत्रिका मेट्रोले जनाएअनुसार कहिले यसले पूर्णता पाउछ भन्ने विषयमा कुनै जानकारी नभएपनि भित्रभित्रै गोप्य रुपमा प्रतिबन्धहरु अन्त्य गर्ने रणनीतिबारे तयारी भइरहेका छन् ।
बेलायतमा कोभिडको कारण हालसम्मकै धेरै १६१० जनाले ज्यान गुमाएको अर्काे दिन यसप्रकारको जानकारी बाहिर आएको हो ।

सरकारले अहिले लगाएको लकडाउनको अन्त्य मार्च ३१ गते हुने भनिएको छ । यद्यपि प्रधानमन्त्री जोन्सनले यसअघि नै हरेक दुई हप्तामा लकडाउनका नियमहरुमा हेरफेर हुन सक्ने बताइसकेका छन् ।

यसको अर्थ आज लकडाउन प्रतिबन्धहरुको हरेफेर हुन सक्ने देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले क्षेत्रगत रुपमा प्रतिबन्धहरु कम गर्दै लैजाने योजना बनाएका छन् । उक्त योजना ल्याउने क्रममा क्षेत्रीय कोरोना संक्रमणको अवस्था, मृत्युदर, खोप लगाएका मानिसहरुको संख्या इत्याधिलाई ध्यानमा राखिनेछ ।

हाल बेलायतमा तीन प्रकारका खोपहरुलाई अनुमति दिई प्रयोग थालिएको छ । हालसम्म ४२ लाख भन्दा धेरै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

हाल बेलायत कोरोनाबाट विश्वमै सबैभन्दा धेरै मृत्युदर भएको देश बनेको छ ।

सरकारका अधिकाशं मन्त्रीहरुले बेलायतमा महामारीको दोस्रो चरणले पिक पार गरिसकेको भन्दै एनएचएसलाई दवाव बढ्ने बताएका छन् ।

वितेको २४ घण्टमा मात्रै एनएचएसमा ३६३४ विरामीहरु भर्ना भएका छन् । हाल ३७९४६ जनाले उपचार सेवा लिइरहेका छन् ।