दुई देशको सम्बन्ध बढाउने उद्धेश्य सहित माल्टा-नेपाल संसदीय मैत्री समूह स्थापना

लण्डन । माल्टाको संसदमा माल्टा- नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ।

नेपाल तथा माल्टाका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका सम्मानित संसदका माननीय सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा माल्टा- नेपाल संसदीय मैत्री समूह स्थापना भएको हो ।

माल्टा- नेपाल संसदीय मैत्री समूहमा गणतन्त्र माल्टाको प्रतिनिधि सभाका सांसदहरु क्रिस फेन, एडवार्ड जमिट लेविस, ग्लेन बेडिङ्गफिल्ड, डेविड अजिउस, रेवर्ट क्युटाजार रहेका छन् ।

संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा यस संसदीय मैत्री समूह गठन भएको लण्डन स्थित नेपाली राजदूतावासले जनाएको छ ।

युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच द्दछ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि माल्टामा माल्टा(नेपाल मैत्री समाज एवं माल्टा(नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।