सिड्नी । अष्ट्रेलियामा अस्थायी भिसा लिई आएकाहरुले कोरोनाभाइरस महामारी नियन्त्रण गर्न सरकारले तोकेका स्वास्थ्य आदेशहरु अटेरी गरेको खण्डमा भिसाा रद्ध गर्ने र देश निकाला गर्ने सम्मको चेतावनी दिएको छ । देशमा कोरोनाको तेस्रो लहर शुरु भएको कारण सरकारले यतिबेला उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
क्रिसमसका दिन अष्ट्रेलियाको ब्रोन्टे बीचमा भएको भीडभाडको क्रममा गम्भिर रुपमा स्वास्थ्य मापदण्डहरु उल्लंघन भएको भन्दै अध्यागमन मन्त्री अलेक्स हक्सले यस्तो चेतावनी दिएका हुन् । उनले एक ट्विट गर्दै सरकारले तोकेका नियमहरु पलना नगरे भिषा रद्ध गर्ने र देशबाट डिपोर्ट गर्ने चेतावनी दिएका छन् ।
माइग्रेसन ऐन अन्तर्गत यदि कसैले सार्वजनिक सुरक्षा वा स्वास्थ्यलाई चुनौती दिएको पाइएमा तिनीहरूको भिसा रद्ध गरेर देश फिर्ता बारे संघीय सरकारले कदम चाल्ने मन्त्री हक्सको चेतावनी छ ।
क्रिसमसको दिन ब्रोन्टे बिचमा अत्याधिक भिडभाड भएको भन्दै प्रहरीले भिड तितरबितर पारेको थियो । त्यसअघि नै सरकारले नियम जारी गर्दै १० जना भन्दा धेरै मानिसहरु भिडभाड गर्न निरुत्साहित गरेको थियो । उक्त बिचमा ठूलो संख्यामा मानिसहरु जम्मा भइ नाँचगान गरेका थिए ।
१८ जना संक्रमित थपिए
यस्तै न्यू साउथ वेल्समा वितेको २४ घण्टामा १८ जना नयाँ संक्रमितहरु फेला परेका छन् । ती सबै संक्रमितहरु सामुदायिक संक्रमणबाट देखिएका स्वास्थ्य विभागले जनाएकोे छ । १७ हजार २ सय बढी नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । थपिएका संक्रमित मध्ये आधा नर्दंन बिचका रहेका छन् भने ६ जना नर्दन बिच भन्दा बाहिरका छन् । सरकारले संक्रमितको स्रोेत खोज्ने र कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ ।
खासगरी सिड्नीको उलंगङ्ग, सेन्ट्रल कोस्ट, ब्लू माउन्टेन्स लगायतका क्षेत्रमा संक्रमित देखिएका छन् । संक्रमण बढ्दै जान थालेसँगै प्रिमियर ग्लाडी बेरेजिक्लीयनले अब नयाँ बर्षको सुरुवातको समयमा कडा प्रतिबन्धहरु लगाउने चेतावनी दिएकी छन् । अब घरभित्र बालबालिका सहित ५ जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम बनाइएको उनको भनाई छ । त्यस्तै घरबाहिर जम्मा हुन पाइने संख्या ५० देखि ३० मा झारिएको छ । प्रिमियरले अनावश्यक रुपमा भिडभाड नगर्न आग्रह गरेकी छन् ।






