लण्डन । लामो समयदेखि समाजसेवाको पवित्र यात्रामा जुटेको तमुधिं यूकेले नेपालका गरिब र जेहेन्दार विद्यार्थीको लागि ५ लाख रुपैयाको छात्राबृति वितरण गरेको छ ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ३ जना गरिब र जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न सहजता पुर्याउने ध्येयका साथ संस्थाले ५ लाख रुपैया सहयोग गरेको हो । उक्त सहयोग रकम नेपाल स्थित सांस्कृतिक प्रतिष्ठान नेपाललाई हस्तान्तरण गरिएको छ ।

तमु धिं यूकेद्वारा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ सम्पन्न च्यारिटीमा संकलित अक्षयकोष रकम र समाजसेवी डेबिड तमुले प्रदान गरेको रकम पोखरामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा तमु धिं यूकेका सल्लाहकार एवम् नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद तमु र तमु धिं यूकेका पूर्वअध्यक्ष मुछेत्र तमुले तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग तमुलाई हस्तान्तरण गरेका थिए ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा तमु धिं यूकेका सल्लाहकार एवम् नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद तमु, प्रतिष्ठानका सल्लाहकारहरु तेजबहादुर तमु, हर्कबहादुर तमुले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानको कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षता, तमु धिं यूकेका सल्लाहकार अशोक तमु, घान्द्रुक समाज यूकेका अध्यक्ष अर्जुन तमुको विशेष उपस्थिति रहेको कार्यक्रममा सचिव भेषराज तमुको संचालनमा भएको हो ।
तमुधि लण्डन ईकाइका पूर्वअध्यक्ष तथा तमुधि यूके र एनआरएनए यूकेका सल्लाहकार समेत रहेका स्याङ्जा सिरुवारी घर भएका समाजसेवी डेविड गुरुङ र उनकी धर्मपत्नी बिना गुरुङले १ लाख २५ हजार रुपैया सहयोग गरेका हुन् ।

लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दे समाजसेवी गुरुङले आफ्नो स्व. मातापिताको स्मृतिमा एक जना विद्यार्थीलाई छात्राबृति सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
उनकी आमा उजेली गुरुङको गत नोभेम्बर ९ गते स्वर्गिय भएको थियो । आमाको निधन भएको ४९ औँ दिन पारेर तथा बुवा स्याङ्जा सिरुवारीका पूर्व प्रधानपञ्च समेत रहेका स्व.बाबा लालबहादुर गुरुङको स्मृतिमा उक्त सहयोग गर्न लागेको गुरुङको भनाई छ । “म मेरा बाबाआमाको नाम सदैव अमर राख्न चाहान्छु,” लण्डन नेपाल न्यूज संगको कुराकानीमा उनले भने, “त्यसैले गुणस्तरीय शिक्षाको कमी हुन नदिन कम्तीमा एक जना विद्यार्थीको लागि भएपनि सहयोग गर्ने सोच बनाएँ ।”
तमुधि लण्डन ईकाइका महासचिब भरत गुरुङले आर्थिक अभाव भएकै कारण गुणस्तरीय शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाउन महाअभियानमा लाग्ने तमुधिं यूके र सल्लाहकार डेविड गुरुङलाई विशेष आभार व्यक्त गरे ।
समाजसेवी गुरुङले तमुधिं यूके मात्र नभएर, एनआरएनए लगायत विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेर लामो समयदेखि समाजसेवा गर्दै आएका छन् ।






