लण्डन । पासा पुच गुठी यूके लन्डनले ‘नेवा परम्परा जोगाउन समसामयिक अभ्यास’ शीषर्कमा गुठी सेमिनार श्रृंखला सम्पन्न गरेको छ ।
नेवा संस्कृतिको संरक्षण गर्ने उद्धेश्य सहित २९ नोभेम्बरमा आयोजित उक्त वेबिनारमा नेवा संस्कृतिविद, प्राज्ञ, अभियन्ता तथा नेवा संस्कृतिप्रेमी व्यक्तिहरु सहभागि रहेका थिए ।
नेपाल सम्बत ११४१को शुभकामना दिदै संस्थाका अध्यक्ष रुकमणी मानन्धरले उपस्थित सबैलाई स्वागत गरे ।
संस्थाको ट्रष्टी बोर्डका सभापति ओजेश सिंहले कर्यक्रमको बारेमा जानकारी दिदै नेवा संस्कृतिको संवद्र्धनमा गर्न सकिने नविनतम कामहरुको विषयमा चर्चा गरेका थिए । सिंहले अध्यक्षता गरेको पहिलो प्यानलमा नेवा संस्कृतिविद काशीनाथ तमोट र दुई लेखिका एवं नेवा अभियन्ताहरु सुप्रिया मानन्धर र रुक्सना कपालीले आ आफ्नो कार्यपत्र प्रस्तुत गरे ।
तमोटले नेपाल सम्वतको महत्व तथा चुनौति, सुप्रिया र रुक्सनाले हालै प्रकाशित सौर्य नेपाल सम्वत, तथा डा. महेशमान श्रेष्ठले समकालिन समाजमा नेवा र यसका चुनौतिबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
लन्डनस्थित सोआस विश्वविद्यालयमा नेपाल भाषा सोसाइटीकी संयोजक म्यारिलेना फ्रिजोनको अध्यक्षतामा भएको दोश्रो सत्रमा भाषा प्रशिक्षक तथा सञ्चारकर्मी सुनिता डंगोलले आफु सम्बद्ध क्यालीजात्रा समूहबारे जानकारी गराएकी थिइन् । उनले आफुहरुले काम गरीरहेको समुहले मोबाइल एप तथा प्रत्यक्ष तथा भर्चुअल कामहरु मार्फत रन्जना लिपीको प्रवर्धन गरिरहेको जानकारी दिइन् समपदाको संरक्षणमा अग्रसर अलिना ताम्राकारले कथा वाचन कार्यक्रमको आयोजक एउटा स्वयंसेवी संस्था ‘बाख न्यानी वा’ (कथा सुन्न आउ) बारे जानकारी गराएकी थिइन् ।
नेवा संस्कृति संरक्षणमा काम गरिरहेको अजी नामक संस्थाकी सहसंस्थापक लोरिना स्थापितले आफ्नो संस्थाले एक पुस्तादेखि अर्काे पुस्तामा ज्ञान तथा सीप हस्तान्तरणबारे काम गरिरहेको जानकारी दिइन् ।
पासा पुच गुठी यूके लन्डनका पूर्व अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न तेश्रो तथा अन्तिम सत्रमा पनि तीन कार्यपत्र प्रस्तुत गरिएको संस्थाले जनाएको छ । उक्त सत्रमा अधिकारकर्मी मल्ल के सुन्दरले नेवा गुठीको स्वराज्य अधिकारबारे चर्चा गरे । मार्बर्ग विश्वविद्यालयका डा. फेलिक्स ओटरले प्राचीन नेवा साहित्य र पाण्डुलिपी संरक्षण एवं अध्ययनमा समकालिन अभ्यासबारे उल्लेख गरेका थिए । त्यसैगरि, लैंगिक मुद्धा तथा सामाजिक विकासकी अध्येता डा. ज्योति तुलाधरले नेवा मुल्य मान्यता सम्बन्धमा चर्चा गरिन् ।
तीन सत्रको कार्यपत्र प्रस्तुतिपछि पासा पुच गुठी यूके लन्डनका सल्लाहकार डा. सचेतन तुलाधरले मध्यस्तता गरेको सत्रमा सहभागीबीच छलफल भएको थियो । तुलाधरले भविष्यमा पनि यस्ता सेमिनारमा जोड दिए । ओजेश सिंहले कार्यक्रम समापन गर्दै सबै प्रमुख वक्ता तथा सहभागीप्रति आभार व्यक्त गरेका थिए ।
१५० भन्दा बढी व्यक्तिहरु सहभागि भएको उक्त कार्यक्रम सामाजिक सञ्जाल फेसबुकबाट लाइभ प्रशारण गरिएको थियो ।






