आफैंले राखेको कामदारमाथि बलात्कार, पक्राउ परे भारतीय नागरिक

काठमाडौं । लकडाउनको मौका छोपेर आफैंले काम गर्न राखेको कामदारको बलात्कार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४६ वर्षीय रमाकान्त सरावगी रहेको प्रहरीले जानकारी दिएको छ । बाग्लुङकी १८ वर्षीया एक किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा काठमाडौंको कोहिटी यबहालबाट सरावगी पक्राउ परेका हुन् ।

कोहिटीस्थित राजु ताम्राकारको घर जिम्मा लिएर आफु पनि बस्ने र विभिन्न मानिसलाई भाडामा राख्दै आएका सरावगीले गत फागुनमा ती किशोरीलाई घरेलु कामदारका रुपमा राखेका थिए । काममा राखेको केही दिन बित्न नपाउँदै उनले ती युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

सरावगीले बयानमा समेत आफुले २ पटक बलात्कार गरेको स्वीकारीसकेको काठमाडौं प्रहरी परिसर टेकुका डिएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । सरावगीविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भइसकेको पनि डिएसपी चन्दले बताए ।

सरावगीले यौन शोषण गर्न थाले पनि शुरुमा ती युवतीले घटना कसैलाई सुनाएकी थिइनन् । तर सरावगीको हर्कत दिनहुँ बढ्दै गएपछि उनी काम नै छोडेर हिँडेकी थिइन् । त्यहाँ काम गर्नु पहिले उनी काठमाडौंमा आफन्तसँग बस्दै आएकी थिइन् । काम छाडेर फर्किएपछि आफन्तले सोधपुछ गर्दा आफु पटक पटक बलात्कारमा परेको उनले सुनाइन् । त्यसपश्चात आफन्तकै सल्लाहमा उनले प्रहरीमा पुगेर सरावगीविरुद्ध जाहेरी दिएकी हुन् ।

प्रहरीले सरावगीको कोठाबाट कण्डम, कण्डमका खोल, तथा तरल वस्तु समेत फेला पारेर अनुसन्धानका लागि लगेको छ । त्यस्तै ती किशोरीको मेडिकल परीक्षण गर्दा समेत बलात्कार भएको पाइएको प्रहरीले जानकारी दिएको छ । सरावगीलाई हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको डिएसपी चन्दले बताए ।