विश्वका सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन

काठमाडौँ ।
बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको आज निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ । ८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो ।
उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ । कोरोनाका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ ।
बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ ।
राजपरिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । उनी विश्वमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने ब्यक्ति हुन् ।