एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्।
फक्स न्युजका अनुसार हालसम्म बाइडेनले २६४ इलेक्टोरल मत र ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा विजयी हुन कम्तिमा २ सय ७० इलेक्टोरल मतको खाँचो पर्छ । बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्। मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै उनले मतगणना सकिएपछि आफू विजयी हुने बताए।
अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ। डोनाल्ड ट्रम्पले ५० राज्यमध्ये २३ राज्यमा जित्ने अनुमान गरिएको छ।
महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन्। मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।”
नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए।
ट्रम्पले भने, ‘अदालत जान्छौँ’
राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ। अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए।
त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्।
अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई “आधारहीन” भन्दै त्यसले “लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्याएको” जनाएको छ।






