तीन राज्यमा मतगणना रोक्न ट्रम्पले दिए उजूरी

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजूरी गरिएको हो ।

उजूरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ ।

एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गरेका छन् । यद्यपी यहाँ औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी रहेको र दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।

ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुने बताए ।

राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका छन् । उनले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताएका हुन् ।