तक्दीर अधिकारी
सिड्नी। नेपालीहरुको महान पर्व विजयादशमी नजिकिदै गर्दा विश्वभर नै छरिएर रहेका नेपालीहरुले पर्व मनाउने तरखर शुरु गरेका छन् । तर विश्वभर नै फैलिएको कोरोनाभाइरसको कारण लाग्ने कोभिड १९ महामारीको कारण यस बर्ष पर्वमा उल्लास भने पटक्कै छैन । यसैप्रसङ्गमा अष्ट्रेलिया स्थित नेपाली समुदायमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको कारण यहाँ स्थित नेपाली संघसंस्थाहरुले विशेष सावधानी अपनाउने कुरामा जोड दिएका छन् । न्यू साउथ वेल्स स्थित न्यु साउथ वेस्ट नेप्लीज कम्युनिटिले प्रदेश सरकारसँग विशेष सहकार्य गर्दै दशै पर्वमा नेपालीहरुलाई सचेत बनाउने उद्धेश्य सहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोे छ ।

संस्थाका अध्यक्ष देवेन्द्र सापकोटाका अनुसार नेपाली समुदायमा कोरोना संक्रमण पनि बढ्दै गइरहेको र त्यसैमाथि चाडपर्व नजिकिदै गर्दा संक्रमणको थप जोखिम हुने भएको कारण विशेष सतर्कता अपनाउन लागिएकोे होे । संस्थाले सरकारसँगको सहकार्यमा विशेष गरी कोरोनामहामारीबाट जोगिने उपाय, यसको नियन्त्रणमा सरकारले चालेका कदम र नियम तोड्नेलाई गरिने कारवाहीको विषयमा जानकारी दिइरहेको छ ।
अध्यक्ष सापकोटाका अनुसार सामाजिक सञ्जाल देखी नेपालीहरु पुग्ने व्यापार व्यवसायमा सतर्कता र नियमहरुको बारेमा जानकारी दिने खालका पम्प्लेट तथा पोस्टरहरु टाँस्ने काम सम्पन्न भएको छ । उक्त कार्य गर्नको निम्ती यहाँ स्थित न्यू साउथ वेल्स सरकार मातहतको पब्लिक हेल्थ युनिटले संस्थालाई सम्पर्क गरेको थियो । “हामीले सरकार सँग समन्वय गरी नेपालीहरुलाई सचेत बनाउने अभियान चलायौँ” उनले भने, “नेपाली समुदाय बढी रहेको क्षेत्रमा पोस्टरहरु टाँस्ने या सामाजिक सञ्जालबाट जानकारी गराउने गरिरहेका छौ”। यस अभियान यहाँ स्थित अन्य नेपाली संघसंस्थाहरुले पनि कम्युनिटिलाई साथ दिएका छन् । उनका अनुसार कोही नेपालीलाई कोरोना लागेको शंका लागेको खण्डमा अष्ट्रेलिया सरकारले निशुल्क परिक्षणको व्यवस्था गरेको बताउँदै सरकारले तोकेका ठाँउमा पुगेर परिक्षण गर्न उनले आग्रह गरे ।

समाजका प्रवक्ता सूर्य खनालका अनुसार नेपालीहरुलाई कुनै पनि सहयोग आवश्यक परेको खण्डमा संस्थाका जुनसुकै पदाधिकारीलाई पनि सम्पर्क गर्न सकिनेछ । सरकारले कोरोना महामारी फैलन नपाओस भन्ने उद्धेश्य सहित जनस्वास्थ्यका मापदण्डहरु तोकेको छ । जसमा १.५ मिटर दूरी कायम गर्नुपर्ने, २० जना भन्दा बढीको जमघट गर्न नपाइने, बाहिर निस्कने बेला अनिवार्य रुपमा मास्क लगाउने रहेका छन् ।
जनस्वास्थ्य मापदण्ड पालना नगरेको खण्डमा अथवा एकैठाँउमा २० जना भन्दा बढी जम्मा भएको पाइएको खण्डमा प्रतिव्यक्ति १ हजार १ सय डलरका दरले घटनास्थलमै जरिवाना तिराइनेछ । त्यति मात्र नभएर घरधनीलाई समेत जरिवाना लाग्ने नियम बनाइएको छ । यसकारण पनि संस्थाले दशै पर्व मनाउँदा घरमा धेरै जना बोलाएर पार्टीहरु नगन, मास्क अनिवार्य रुपमा लगाउन, बाहिरबाट आउँदा हातमुख छोएर, कपडा फेरेर मात्र परिवार सँग भेट्न आग्रह गरेको छ । यस परिस्थितीमा कुनै समस्या परेको खण्डमा संस्थालाई सहयोग माग्न सकिने छ। यस संस्थाले यस अघि पनि महामारीको समयमा समस्यामा परेका नेपालीलाई सहयोग गर्नेदेखी सचेतनामूलक विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।






