तमुधि लण्डन इकाई र क्यान युके बीच भयो आपसी सहयोग र सम्बन्ध विस्तार

लन्डन । कम्युनिटिज एन्ड नेचर इन्टरनेशनल अर्थात क्यान युकेले युकेस्थित तमुधि लण्डन इकाई समितिलाई यहाँ रहेका ज्येष्ठ नागरिकहरुलाई वितरण गर्ने उद्धेश्य अनुरुप कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण गरि सम्बन्ध विस्तार गरेको छ ।

क्यान युकेका निर्देशक बलराम ढकालले एक औपचारिक कार्यक्रम मार्फत ३०० सय मास्क तथा करिब १ सय भन्दा बढी स्यानिटाइजर सामग्री तमुधि लण्डन इकाई लाई हस्तान्तरण गरेका हुन् । तमुधि लण्डन इकाईका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा क्यान यूकेका निर्देशक डा.बलराम ढकाल सहित समिति मातहतको आमा समुहकी अध्यक्ष दिलमाया गुरुङ, आमा समुहकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार होम कुमारी गुरुङ, ट्रष्टी धनकाजी गुरुङ, कोषाध्यक्ष ललितमान गुरुङ, संस्थाका पूर्वध्यक्ष दिपक गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)राज्य समन्वय परिषद इंगल्याण्डका उपाध्यक्ष एलबीजेड गुरुङको उपस्थिती रहेको थियो ।

सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै क्यान युकेका निर्देशक बलराम ढकालले इँगल्याण्ड र स्कटल्याण्डमा च्यारिटी कम्पनीको रुपमा समुदायमा केही योगदान दिने उद्धेश्यका साथ ४ बर्ष अघि संस्था दर्ता भएको जानकारी गराए । संस्थाले ज्येष्ठ नागरिकहरुलाईको कल्याणको निम्ती काम गर्दै आइरहेको बताए । “विशेषगरी उहाँहरुको भाषागत, आवास, लगायतका समस्याहरुलाई समाधान गर्न काम गर्दै आएका छौ ।” उनले भने, “काम गर्दै गर्दा कोभिड १९ लाग्यो, यहि अवस्थामा ज्येष्ठनागरिकहरुको निम्ती सुरक्षा सामग्री वितरण गर्ने अभियान थाल्यौँ।” प्रकृति सँग सम्बन्धित गतिविधिहरु तथा अल्पसंख्यक र सीमान्तकृत समुदायको उत्थानको निम्ती कामहरु गर्दै आएरहेकोे समेत जानकारी दिदै ढकालले आगामी दिनमा पनि तमुधि लण्डन इकाई र आमा समुह सँग मिलेर काम गर्ने खोजेको बताए । नेपालको स्याङ्जा घर भएका उनी १३ बर्ष अघि बेलायत आएका थिए । स्कटल्याण्ड स्थित एभर्डिन युनिभर्सिटीबाट विद्यावारिधि समेत गरेका उनले समुदायमा योगदान दिने अभियानको सुरुवात क्यान युके मार्फत गरे ।

हाल यस संस्थाले बेलायत मात्र नभएर मातृभूमि नेपालमा पनि असहाय विद्यार्थीहरुलाई आर्थिक सहयोग देखी सामुदायिक पुस्तकालय निर्माणमा सहयोग गरेको छ । त्यसैगरी नेपाल सँगै भारत र अफ्रिकामा पनि केही कार्यक्रमहरु सञ्चालन गर्न लागेको उनले सुनाए । ढकालले संस्था विशुद्ध समाजसेवा गर्ने उद्धेश्यले मात्र खोलिएको भन्दै यसको आर्थिक हिसाव किताव अत्यन्तै पारदर्शी बनाइएको समेत जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै तमुधि लण्डनका अध्यक्ष चन्द्र बहादुर गुरुङले क्यान युके जस्तै संघसंस्थाहरु सँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए । “हातेमालो गरेर काम गर्नेहो भने कहिल्यै पनि असफल हुनु पर्दैन, हामी यसै चाहान्छौ” । उनले भने । विशेष गरी बेलायतमा रहेका ज्येष्ठ नागरिकहरुलाई भाषाको सबैभन्दा बढी समस्या रहने गरेको उनको भनाई छ ।

त्यस्तै तमुधिका निवर्तमान अध्यक्ष दिपक गुरुङले क्यान युकेमा रहेर निर्देशक ढकालले गरेको मिहेनतको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै अनुकरणीय कार्य गर्दै जान सल्लाह दिए ।तमुधि लण्डन इकाई र क्यान युके बीच भएको सम्बन्ध विस्तार र भेटवार्ताले सामाजिक कार्यका लागि एक राम्रो माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे ।उनले भने’ नेपालीका ठूला चाडवाड दशैँ, तिहार लोछार नजिक आइपुकेको स्मरण गर्दै सामाजिक व्यवहारमा ध्यान नदिइएको खण्डमा पुनः कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले ध्यान दिन आग्रह समेत गरे ।

लण्डनको हिमालयन रेष्टुरेन्टको हलमा सम्पन्न भएको कार्यक्रमकै अवसरमा आउँदै गरेको विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो ।

तमुधि लन्डन इकाईका महासचिब भरत गुरुङले कार्यक्रम संचालन गर्दै कोभिड १९ को संक्रमणको जोखिम सँगै सरकारले तोकेको मापदण्ड पालना गरी निश्चित ब्यक्तिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको भन्दै संक्रमणको सम्भावनलाई ख्याल गर्दै भीडभाड र तडकभडक नगरी चल्न अनुरोध गरे।

कोभिड १९ को संक्रमणको जोखिम सँगै सरकारले तोकेको मापदण्ड पालना गरी निश्चित ब्यक्तिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा क्यान युकेका निर्देशक ढकाललाई सम्मान समेत गरिएको थियो ।