तक्दीर अधिकारी
सिड्नी- पोखरा समाज अष्ट्रेलियाले पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाईरस संक्रमितहरुको निम्ती दैनिक रुपमा फलफुल उपलब्ध गराउने अभियानको सय दिन पूरा भएको छ । नेपालमा कोरोनाभाईरसको संक्रमणको बढी प्रभाव शुरु भएदेखी नै यस समाजले विरामीहरुको निम्ती दैनिक रुपमा ताजा फलफुल प्रदान गर्दै आइरहेको थियोा । समाजका महासचिब समित केसीले मानव धर्म र जन्मभुमि प्रतिको उत्तरदायित्व वहन गर्ने पवित्र उद्धेश्य राखि सो फलफुल वितरण अभियान शुरु गरेको बताउँदै उक्त अभियानले सय दिन पार गरेको जानकारी दिए ।
विश्व मानव जगतलाई नै उथलपुथल बनाउने र अर्थतन्त्रलाई निकै प्रभावित पार्ने गरि हाल सम्म पनि नियन्त्रण बाहिर रहेको कोभिड–१९ अझै कति समय रहने हो यकिन गर्न कसैले सकेको छैन । संसारका अधिकाशं देशमा प्रभाव जमाएको यस भाइरस नेपालमा पनि देखिन थालेसँगै प्रवासबाट जन्मभुमि लाई सहयोग गर्ने अभियान सुरुवात गरेको पोखरा समाज अष्ट्रेलियाको प्रभावकारी कामको सस्थाका सल्लाहकार तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा न्यू साथ वेल्स राज्य परिषदका संयोजक देब गुरुङले प्रशंसा ब्यक्त गरे । उनले यस खालका सहयोगात्मक कार्यक्रमहरु आगामी दिनमा पनि जारी राख्न अनुरोध गर्दैै संस्थाको निम्ती सबै खालका सहयोग गर्न समेत आफू तयार रहने जानकारी दिए ।
यस समाजले यस अघि पोखरा लेखनाथ महानगरपालिकाको वडा न.१८, २६ तथा माछापुच्छ्रे गाउँपालिका वडा न.९ मा छुट्टाछुट्टै पहिरोमा परि ज्यान गुमाएका १० जनाको परिवारहरुलाइ प्रति परिवार ११ हजार ५ सयका दरले नगद एक लाख १५ हजार रुपैया आर्थिक राहत समेत उपलब्ध गराएको थियो । यस संस्थाले अष्ट्रेलियामा समेत नेपाली भाषा, कला र संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धन गर्न भूमिका निभाउँदै आएको छ । त्यसैगरी अष्ट्रेलियामा अध्ययन गर्नको निम्ती आएका कोभिड १९ प्रभावित विद्यार्थीहरुलाई पनि सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष राजकुमार अधिकारीले संस्था एक विशुद्ध समाजसेवा गर्ने हेतुले स्थापना गरिएको जानकारी दिदै सामाजिक दायित्वलाई प्रवास देखी जन्मभुमि सम्म वहन गरिरहने बताए । आपत बिपतमा थालिएका हरेक सहयोगी अभियानमा अनवरत साथ र सहयोग गर्ने सबै प्रति धन्यवाद ब्यक्त गर्दै उनले सहयोग अभियान निरन्तर जारी रहन समेत जानकारी दिए । आफु प्रवासमा रहेपनि जन्मभुमिको दुख र पीडामा सदैव साथ दिने बताउँदै उनले आगामी दिनमा पनि स्वदेशको घाउमा मल्हम लगाउने काममा सधै जुटिरहने समेत प्रतिबद्धता जनाएका छन् ।
यसैगरी समाजले यस प्रकारको प्रशंसनीय र अनुकरणीय कार्य गरेको भन्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा.अर्जुन आचार्यले आभार ब्यक्त गरे । यस फलफुल वितरण अभियानमा सामाजिक कार्यमा अग्रसर सत्य युवा क्लबले स्थानिय व्यवस्थापनको काम गरिरहेको क्लबका अध्यक्ष सुरेन्द्र गुरुङले बताए। कोभिड १९ संक्रमित भई उपचाररत बिरामीहरुले प्रवासमा रहेर पनि मातृभूमिमा परेको समस्यामा गरिरहेको सहयोगले आफुहरुमा थप आत्मबल बढाएको भन्दै खुशी ब्यक्त गरेको अभियानका सहजकर्ता सविनराज लामिछानेले बताए ।






