अष्ट्रेलियाको तास्मानियामा बाटो बिराएका ३८० ह्वेलको मृत्यु, कैयौँको उद्धार जारी

होबर्ट ।
अष्ट्रेलियाको तास्मानिया राज्यको पश्चिमी क्षेत्रमा बाटो विराएका ३८० पाइलट ह्वेल मृत भेटिएका छन् । उद्धारकर्ताहरुले ५० वटा ह्वेल भने उद्धार गर्न सफल भएको बताए । त्यसैगरी अझै ३० जनावरहरुको उद्धार गर्ने काम भइरहेको छ । होवबर्ट भन्दा १९० किमी दूरीमा रहेको म्याक्वारी क्षेत्रमा विचल्लीमा परेका जनावरहरुको उद्धार गर्ने कार्य शुरु भएकोे आज तेस्रो दिन हो । यति धेरै मात्रामा जनावरहरु बाटो बिराएर विचल्लीमा परेको घटना अष्ट्रेलियाको इतिहासमै पहिलो घटना हो । तास्मानिया क्षेत्रीय पार्क तथा वाइल्डलाइफका व्यवस्थापक निक डेकाले भने, “यदि पानीमा ती जनावरहरु अझै बाँचेका छन भने उनीहरुलाई जीवितै उद्धार गर्ने सम्भावना रहन्छ, तर जति धेरै समय घर्किरहेको छ, उनीहरुको थकान उति नै बढेको छ, यसले उनीहरुको जीवित रहने आशा पनि कम हुँदै गएको छ।”

उद्धार कर्ताहरुले अरु जनावर भन्दा ह्वेल माछाहरु बढी जीवित रहेको आशाका कारण ह्वेलको उद्धाररलाई बढी प्राथमिकता दिइएको बताएका छन् । उद्धार गरिएका जनावरहरुलाई गहिरो पानीमा डुबाईएको छ, जसले गर्दा उनीहरुलाई सहज होस् । सोमबार तास्मानियाको मक्वेरी हार्बरमा २ सय ७० वटा होयल समुन्द्री किनारमा छटपटाइरहेको अवस्थामा तथा सोही ठाँउको करिब १० किमी पश्चिममा बुधबार बिहान थप २ सय ह्वेल भेटिएका थिए । यहाँका सञ्चारमाध्यमहरुले यस विषयमा प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रशारण गरिरहेका छन् । संचारमाध्यममा समुद्री किनारमा लडिरहेका ह्वेलका तस्विरहरु सार्वजनिक गरेसँगै ती दृश्यहरु धेरै मानिसहरु स्तब्ध भएका छन् । ती पाइलट ह्वेलहरुको तौल २ क्विन्टल सम्म रहेको बताइन्छ ।

Photos : BBC and ABC NEWS