गुल्मीमा काँग्रेस सभापतिमाथि प्रहरीले कुटपिट गरेको भन्दै काँग्रेसले आपत्ति प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला सपभापति भुवन श्रेष्ठ र प्रदेश सभापति पूर्ण केसीलगायत नेता कार्यकर्तामाथि प्रहरीले धक्कामुक्का गरेको र उनीहरु घाइते भएको बताएका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले रोकेको र उल्टै दुर्व्यवहार गरेको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा पनि प्रहरी दमन गर्नु, प्रशासनको कार्यालयमा छिर्न नदिने जस्ता घट्नालाइ काँग्रेसले आपत्ती जनाएको छ । विज्ञप्तीमा प्रश्न गरिएको छ – गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ? यस विषयमा सार्वजनिक रुपमा गृहले स्पष्टिकरण दिन समेत माग गरिएको छ ।
यस्तै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस जिल्ला सभापति तथा अन्य नेता कार्यकर्तामाथि भएको कुटपिटप्रति खेद प्रकट गरेका छन्। उनले दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन्।
नेता पौडेलले भनेका छन्, ‘कम्नियुस्टहरुको सरकार र सत्ताको आडमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको शान्तिपुर्ण विरोध कार्यक्रममा सहभागी हुने क्रममा नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्ण खत्री लगायतका नेपाली काङ्ग्रेसका साथीहरू घाईते भएको घटनाप्रति खेद प्रकट गर्दछु। अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति दिनुहुन्न। तुरुन्त कानूनी दायरामा ल्याई कारवाहीको माग गर्दछु।’






