नेदरल्यण्ड, ४ वैशाख । बेल्जियमस्थित नेपाली दूतावासले भगवान गौतम बुद्धको प्रतिमा नेदरल्याण्डस्को डेल्फ नगरपालिकालाई हालै एक समारोहमा सो शहरको विश्वकला केन्द्र परिसरमा नगरपालिकाका मेयर जिएए भेरकर्कलाई हस्तान्तरण गरेको छ । बेनेलक्स तथा यूरोपेली संघका लागि नेपाली राजदूत राममणि पोखरेलले तामाको तीन फिटको बुद्धको मुर्ति उक्त नगरपालिकाका मेयरलाई हस्तान्तरण गरेको नेपाली दूतावास, ब्रसेल्सले बताएको छ ।
विश्वका विभिन्न देशहरुको कला सँस्कृति झल्काउने प्रतिमा तथा वास्तुकला रहेको विश्वकला केन्द्र परिसरमा स्थापित भगवान गौतम बुद्धको प्रतिमा राजदूत पोखरेल र मेयर भेरकर्कले संयुक्तरुपमा अनावरण गर्नुभयो । नेपाल र नेदरल्याण्ड्सबीचको द्विपक्षीय तथा जनताबीच प्रगाढ हँुदै गएको आपसी सम्बन्धलाई अझ बढावा दिन र नेदरल्याण्ड्समा नेपाललाई थप चिनाउने उद्देश्यका साथ दूतावासले उक्त प्रतिमा डेल्फ नगरपालिकालाई हस्तान्तरण गरेको बताइएको छ ।
विश्वकला केन्द्रको परिसरमा स्थापित उक्त प्रतिमाले केन्द्रमा भ्रमण गर्ने अन्य देशका पर्यटकमाझ नेपालको चिनारीलाई थप बढाउने दूतावासको विश्वास रहेको छ । उक्त बुद्ध प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहमा डेल्फ नगरपालिकाका पदाधिकारीहरु, विश्वकला केन्द्रको कार्यकारी बोर्डका सदस्यहरु तथा कार्यकारी निर्देशक पाउला काउवेनहोभेन, डेल्फस्थित विश्वविद्यालयका प्राध्यापकहरु, गैह्रआवासीय नेपाली संघ युरोपका संयोजक, नेदरल्याण्डस्का लागि नेपालका अवैतनिक महावाणिज्यदूत एफ क्यास्पर डी स्टपेलार तथा अन्य गरी करिब १०० अतिथिहरु सहभागी भएका थिए । दुवै देशको राष्ट्रिय गान बजाई कार्यक्रम शुरु गरिएको दुतावासले जनाएको छ ।
सो अवसरमा राजदूत पोखरेलले नेपालका राष्ट्रिय विभुति गौतम बुद्धको प्रतिमा स्वीकार गरी विश्वकला केन्द्र परिसरमा प्रतिस्थापन गरेकोमा डेल्फ नगरपालिका तथा केन्द्रलाई धन्यवाद दिनुभयो । नेपाल प्राचीन सभ्यतादेखि नै विभिन्न धर्म, सँस्कृति, भाषा र रीतिरिवाजको अनुपम संगम रहेको उल्लेख गर्दै राजदूत पोखरेलले उपस्थित डच समुदायलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको दुतावासको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, कार्यक्रममा डेल्फ नगरपालिकाका मेयर भेरकर्कले उपहारका लागि नेपाली समुदायलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त अवसरमा गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का अध्यक्ष कृष्णराज अधिकारी तथा लुम्बिनी कपिलवस्तु अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले पनि आफनो धारणा राख्नुभएको थियो ।
नेदरल्याण्डस्को डेल्फ नगरपालिकालाई बुद्ध प्रतिमा हस्तान्तरण






